राइड थ्रु सिन्धुलीगढी साइकल यात्राः पर्यटनमन्त्रीले गरे साइकल चढेर सुभारम्भ

काठमाडौं । राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंस्थित पसुपति क्षेत्रबाट सुरु भएको छ ।आज बिहान राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको पर्यटनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर परिषरबाट उद्घाटन गरे । मन्त्री भट्टराईले केही समय साइकल चढेर यात्राको सुभारम्भ गरेका थिए । समृद्ध सिन्धुली अभियानले हरेक बर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस बर्ष यात्रीको उल्लेख्य सहभागिता छ ।

राइड थ्रु सिन्धुलीगढीमा साइकल यात्रामा विश्व साइकल यात्री पुष्कर शाहसहित १७१ साइकल यात्री सहभागी छन् । यात्रामा सहयोगीसहित २ सय ४ जना सहभागी छन् । यस बर्ष संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले महिला साइकलयात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या बढ्दै गएको छ । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको संपूर्ण खर्च बेहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए ।

समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार बर्षदेखि राइड थ्रु सिन्धुलीगढी आयोजना गर्दै आएको छ । राइड थ्रु सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए । यस बर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तराष्ट्रिय संस्था हाम्रो साइकलयात्रासँग जोडिएका छन्, आयोजक समृद्द सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने, हाम्रो साइकलयात्राले अन्तराष्ट्यि पहिचान पाएको छ ।

यो नेपालीहरुका लागि गौरवको कुरा हो ।संयुक्त राष्ट्र संघले लैङ्गिक विभेद बिरुद्धको १६ दिने अभियानकै सन्दर्भ पारेर यात्रामा महिला सहभागिता बढाउन साइकल यात्रीलाई प्रायोजन गरेको हो । यस बर्ष मंसिर ९ गतेदेखि लैंगिक विभेदविरुद्धको अभियान सुरु हुँदैछ । पहिलो बर्ष सिन्धुलीगढीसम्म लगिएको साइकल यात्रा दुई बर्षदेखि जनकपुरसम्म विस्तार गरिएको छ ।

यस बर्षको साइकल यात्रा मंसिर ६ गतेदेखि ९ सम्म ४ दिन हुने छ । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउँदै आएको छ । साइकल यात्रामा अभियानले प्रदेश नम्बर ३ सँग सहकार्य गरेको छ ।

राइड थ्रु सिन्धुलीगढी साइकल यात्रालाई विश्व साइकलयात्री पुस्कर शाह र अर्का यात्री देवेन्द्र बस्नेतले नेतृत्व गर्नेछन् । अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु हुने साइकल यात्रालाई बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तह, संघ संस्था, सेना, प्रहरी, विद्यालयहरुले साइकल यात्रीलाई खाजा, पानी, स्वास्थ्य शिविरलगायतको ब्यवस्था गरेर भब्य स्वागत गर्ने तयारी गरेका छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिकाले मंसिर ७ गते साइकल यात्रीको स्वागतमा सुनकोशी महोत्सव गर्ने भएको छ ।साइकल यात्री पहिलो दिन सिन्धुलीको मुलकोटमा बास बस्ने छन् । त्यहाँ भब्य सांस्कृतिक कार्यक्रम हुने छ । दोस्रो दिन साइकल यात्रीको स्वागतमा जुनार उत्पादन क्षेत्र सिन्धुलीको खनियाँखर्कमा जुनार महोत्सव हुने छ ।

त्यहाँ प्रदेश नम्बर ३ का पर्यटन मन्त्री अरुण नेपालले साइकलयात्रीको स्वागत गर्नुका साथै जुनार महोत्सवको उद्घाटन गर्नेछन् । त्यसपछि साइकल यात्रीले ऐतिहासिक सिन्धुली गढी पुगेर त्यहाँका सम्पदाको अबलोकन गर्नेछन् ।

त्यहाँबाट सिन्धुलीमाढी झरेर साइकल यात्रीहरु सिन्धुली कला घरले गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी हुने छन् । तेस्रो दिन साइकलयात्री मिथिलाको सांस्कृतिक सहर जनकपुरधाममा आयोजना गरिने मैथिल लोक संस्कृतिसहितको सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ २ नम्बर प्रदेश सरकारका उच्च अधिकारीहरुले साइकलयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ । चौथो दिन बिहान जनकपुरमा स्थानीयसमेत १ हजार ५ सय साइकलयात्रीले नगर परिक्रमा गर्ने कार्यक्रम राखिएको छ । काठमाडौंबाट झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर साइकल यात्री जनकपुरसम्म पुग्ने छन् ।

अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढीहुँदै जोड्ने छ । राइड थ्रु सिन्धुलीगढीले पहाडलाई तराईंसँग र २ नम्बर प्रदेशलाई २ नम्बर प्रदेशसँग भाबनात्मक रुपले जोड्ने छ, साइकलयात्रा आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने ।

तत्कालीन अंग्रेजी फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबर्धन गर्ने अभियानको योजना छ ।