कृषि विकास बैंकका दुई कर्मचारीसहित ८ जनाविरुद्द भष्ट्राचार मुद्दा दायर, को को परे ?

काठमाडौं- कृषि विकास बैंकका ८ कर्मचारीसँग २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ बिगो असुल हुनुपर्ने माग दाबी गर्दै अख्तियार दुरुयोग अनुसन्धार आयोगले भष्ट्राचार मुद्दा दायर गरेको छ।

विशेष अदालतमा बैंकको स्वयम्भू शाखाका अधिकृत केदारप्रसाद गौतमसहित ८ जनाविरुद्ध आयोगले सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

कृषि विकास बैंकमा २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रुपैयाँ निकाली बैंकलाई हानी पुर्‍याएको अख्तियारको आरोपपत्रमा उल्लेख गरेको छ। तर उनीहरू आठै जनाविरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो।

को को परे?

आयोगले तत्कालीन कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतमसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको हो। गौतमसहित तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ, सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध पनि मुद्दा दायर भएको छ।

गौतम र बानियाँले शाखा प्रबन्धकका रुपमा बैंकको रेमिटसमेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकोमा गम्भीरतापूर्वक सो दायित्व बहन गर्न नसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको समेत अख्तियारको आरोपपत्रमा भनिएको छ।

ट्रान्सफर भएको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालय र अन्य विभिन्न बैंकहरुबाट विद्युतीय चेकमार्फत भुक्तानी लिने, नक्कली नाम तेजबहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई नेपाल छाडी विदेश फरार हुने योजनाअनुरुप भारत गई बसेको समेत आरोपत्रमा उल्लेख छ। योजनाबद्ध ढङ्गबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी कोर बैकिङ प्रणाली (सीबीएस) को दुरुपयोग गरी गैरकानूनी लाभ पुर्‍याई बैंकलाई हानिनोक्सानी गराएको आरोप पत्रमा उल्लेख छ।

भ्रष्टाचार मुद्दाकी आरोपित सम्झना पोखरेल गौतम गैरकानूनी तबरबाट निकालेको रकमको कारोबार गर्न बैंक खाता खोल्ने र बन्द गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको, आफ्नो नाममा भएका जग्गा जमिन सबै बेची अनियमित तरिकाबाट प्राप्त भएको रकम लुकाउन र प्रयोग गर्ने दुराशयपूर्ण उद्देश्यबाट भारततर्फ नै बसाइसराइ गरी गएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। साथै केदारप्रसाद गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले आफ्नो श्रीमानलाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगीको भूमिका निभाउँदै नक्कली नागरिकता र राहदानी बनाई भारतमा गई बसेको भन्ने जानकारी हुँदा–हुँदै उक्त कसुरबाट प्राप्त रकम लुकाउन र प्रयोग गर्ने कार्यमा संलग्न देखिएको अरोपपत्रमा उल्लेख छ।

गौतमले बैंकिङ्क कसुर गरी प्राप्त रकमबाट गाडी खरिद गरेको, सुमन भुजेल जग्गाको कारोवारमा संलग्न रहेको, सन्दीप गुप्ताले केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिनुको साथै भारत पठाउन समेत सहयोग गरेको, सूर्यबहादुर लिम्बूले बसन्त राई भनी कीर्ते नागरिकता बनाई केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिएको आरोपपत्रमा उल्लेख छ। साथै भारत पठाउनसमेत सहयोग गरेको, कृष्णहरि थापाले राजीव थापाको नाममा नक्कली नागरिकता बनाई प्रस्तुत कसुरको मुख्य योजनाकार केदारप्रसाद गौतमसँग मिलेमतो गरी विभिन्न व्यक्तिहरुको नाममा नक्कली नागरिकता बनाउनुका साथै खाता खोल्नका लागि भूमिका निर्वाह गरेको, भारतमा बसी उक्त रकमको व्यवस्थापनमा प्रत्यक्षतः संलग्न रही फरार रहेकोसमेतका आधारमा निजहरूले आफूहरूलाई गैरकानूनी फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी र्पुयाएको पुष्टि हुन आएको अख्तियारको भनाइ छ।