प्रधानमन्त्रीका ओलीले चिकित्सक दिए हैरानी !

केही दिन आराम गर्ने वातावरण बनाइदिन चिकित्सकको यस्तो आग्रह

काठमाडौं । जस्तोसुकै कठिन परिस्थितिमा पनि धैर्य देखाउने र हाँसो ठट्टा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको मौलिक शैली अस्पतालको सघन उपचार कक्षमा पनि कायमै देखेर चिकित्सकहरु हैरान भएका छन् ।

सामान्य मान्छे पनि एपेन्डिसाइटिसको शल्यक्रियापछि मिर्गौलाको डाइलासिस गरिरहेका र जटिल रोगहरुको सामना गरिरहेका प्रधानमन्त्री ओली भोलिपल्ट बिहानै उठेर हिँड्न खोजेपछि चिकित्सक पनि चकित परे ।

विहीबार बिहानदेखि हिँड्न सक्ने अवस्थामा पुगेका प्रधानमन्त्री ओली विहानै उभिएर बाहिरतिर टहलिन खोजेपछि चिकित्सक हैरानीमा परेका हुन् । उनीहरुले प्रधानमन्त्रीलाई आराम गर्न र हिँडडुल नगर्न सम्झाउनुपरेको उपचारमा संलग्न टिमका एक सदस्यले बताए ।

बुधबारै अक्सिजन मास्क कहिले निकाल्ने हो भन्दै चिकित्सकलाई सोधेका प्रधानमन्त्री ओलीले आफू पूर्ववत् अवस्थामा फर्किसकेको जनाऊ दिन कुनै कसर बाँकी राखेका छैनन् । उनी चाँडोभन्दा चाँडो नियमित काममा फर्किन चिकित्सक र सहयोगीहरुसँग तन्दुरुस्तीको प्रमाण पेश गर्न आफ्नो लयमा आउने प्रयासमा छन् ।

बिहीबार बिहान चिकित्सकको असहमतिका कारण हिँडडुल गर्न नपाएपछि प्रधानमन्त्रीको हातमा मोबाइल पर्‍यो । उनले एकछिन मोबाइल चलाए । त्यहाँ नोटिफिकेशनमा देखिएका दुईरचारजनालाई उनले रिप्लाइ दिनसमेत भ्याए ।

प्रधानमन्त्री मोबाइल चलाउँदै सामाजिक सञ्जालमा सक्रिय भएपछि चिकित्सक तथा सचिवालयका सदस्यहरुले रोक्नुपरेको थियो । प्रधानमन्त्री ओली सामाजिक सञ्जाल र अनलाइन समाचारहरु प्रायः आफैं हेर्ने गर्छन्, उनी सहयोगीको सूचनामा मात्र भर पर्दैनन् ।

आईसीयुमै बसेर सामाजिक सञ्जालमा प्रधानमन्त्री सक्रिय भएपछि उनलाई आरामका लागि केहीबेरमै रोकिएको स्रोतले जनाएको छ । एक एकजनालाई रिप्लाई दिनुभन्दा आम जनता र शुभेच्छुकलाई एकमुष्ठ धन्यवाद तथा स्वास्थ्य अवस्थाबारे जानकारी दिन उपयुक्त हुने सुझावपछि प्रधानमन्त्रीले सबैलाई धन्यवाद दिएर ट्वीट गरे ।

बिहान केहीबेर प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालसहितको टोलीले भेट गरेको थियो । त्यस लगत्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल अस्पताल पुगेका थिए । प्रधानमन्त्रीलाई भेटघाटमा भने चिकित्सकहरुले कडाइ गरेका छन् ।

प्रधानमन्त्री ओलीले अस्पतालको बेडमा सुतिरहेका बेला शिक्षण अस्पतालपछाडिको सडकमा बिहेको बाजा बजेको सुनेछन् । उनले चिकित्सक र सचिवालयका सदस्यहरुसँग रमाइलो शैलीमा ‘यतातिर त बिहेका जन्ति पनि हिँड्दा रहेछन्’ भन्दै केहीबेर हाँसो ठट्टासमेत गरेका थिए ।

उनलाई मुख्य सल्लाहकार रिमालले ठट्यौली शैलीमै ‘प्रधानमन्त्रीज्यू हजुरले आफ्नो ख्याल गर्नुपर्‍यो, बाहिर के के हुँदैछ भनेर ध्यान दिनु भएन, बाहिर सबै ठीकठाक चल्दैछ’ भनेका थिए ।

प्रधानमन्त्री जतिसक्दो चाँडो अस्पतालबाट निवास फर्किन चाहेको उनलाई भेट्नेहरु बताउँछन् ।

प्रधानमन्त्रीलाई भेटेका एक निकट सहयोगीले भने, उहाँ त ठमठमी हिँड्न खोज्नुहुन्छ, अस्पतालबाट कहिले निवास पठाउने हो भनेर डाक्टरहरुलाई सोधिरहनुहुन्छ, चिकित्सकले उहाँलाई अस्पतालमै राख्न पाए अलि धपेडी हुने थिएन भनेर रोकेका हुन्, उहाँ त हिँड्न आतुर हुनुहुन्छ ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको उच्च मनोबल र दृढ इच्छाशक्ति रोगलाई जित्ने खालको रहेको भनेर चिकित्सक पनि चकित हुने गरेको बताए । उनलाई डा भगवान कोइराला, डा अरुण सायमी, डा दिब्यासिंह शाह लगायतले प्रधानमन्त्रीको स्वभाव र रोग विरुद्ध लड्ने सामर्थ्यबारे सुनाएका थिए ।

प्रधानमन्त्रीलाई केही दिन जसरी पनि आराम गर्ने वातावरण बनाइदिन चिकित्सकहरुले परिवार तथा सचिवालय र नेकपाका नेताहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीलाई आफू बिरामी छु भन्ने भान नै नहुने र घण्टौं कुराकानी तथा भाषणमा रमाउने बानीले चिकित्सकहरु हैरान छन् ।

‘उहाँलाई केही भन्यो भने म आजको बिरामी हुँ र रु ४७ वर्षदेखि कुनै न कुनै रोगसँग लड्दै आएको छु, बाँकी जीवन जति छ सक्रियपूर्वक जनता र देशको पक्षमा लगाउन चाहान्छु’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक चिकित्सकले भने ‘मलाई उपचार गर्नुस् तर रोकेर नराख्नुस, मलाई एक एक मिनेटको महत्व छ’ ।

केही दिन प्रधानमन्त्रीलाई आराम चाहिएको कुरा पत्नी राधिका शाक्यलेसमेत महशुस गरेपछि चिकित्सकलाई सजिलो भएको छ ।