पोखरामा निर्माणाधीन क्षेत्रीय विमानस्थलका लागि थप डेढ सय रोपनी जग्गा अधिग्रहण

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप डेढ सय रोपनी जग्गा अधिग्रहण हुने भएको छ। जहाज ल्यान्ड गर्न समस्या हुने भएपछि थप मेसिन राख्न र आयल निगमका लागि आवश्यक जग्गा अधिग्रहण गर्न लागिएको हो।

एक सय ४८ रोपनी जग्गा अधिग्रहणको लागि मन्त्रिपरिषद् बैठकबाट सहमति पाइसकेको छ। दक्षिण–पूर्वमा १ सय ६ रोपनी र उत्तर–पूर्वतर्फ ४२ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको आयोजना प्रमुख विनेश मुनन्कर्मीले जानकारी दिए। केही समयमै सूचना निकालेर अधिग्रहणको प्रक्रिया थाल्ने उनले बताए।

‘स्थानीयको मागलाई सम्बोधन गर्दै सहज वातावरणमै जग्गा अधिग्रहण हुन्छ। कुनै अब्जेक्सन छैन। केही मागहरू छन्। सूचना जारी भएपछि ती कुराहरू आउलान्,’ उनले भने, ‘मुआब्जा समितिले निर्धारण गर्छ। सरोकारवालालाई पनि त्यहाँ सहभागी गराइन्छ। उहाँहरूको कुरा त्यहाँ पनि राख्नुहोला।’

केही जग्गा पहिलेदेखि नै रोक्का राखेकोले सहज भए पनि अरू जग्गा पूरै नयाँ प्रक्रियाअनुसार अधिग्रहण गर्नुपर्नेछ। आयल निगमलाई भविष्यमा जग्गा नपुग्ने र त्यसका लागि पनि केही जमिन अहिले नै अधिग्रहण गर्नुपर्ने अवस्था रहेको मुनन्कर्मीको भनाइ छ।

हाल ३ हजार ७ सय ३५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको विमानस्थलमा जग्गा थप अधिग्रहण गरेपछि ३ हजार ८ सय ८३ रोपनी हुनेछ। विमानस्थल निर्माणको काम ५२ प्रतिशत पूरा भएको छ। रन वे (धावनमार्ग), ट्याक्सी वे (ट्याक्सी गुड््ने ठाउँ) र एप्रोन (जहाज पार्किङ) तयार भइसकेको इन्जिनियर कृष्ण पौडेलले जानकारी दिए। सन् २०२१ जुलाइ अघि नै विमानस्थल निर्माणको काम सकेर सरकारलाई हस्तान्तरण गरिसक्ने निर्माण कम्पनीले जनाएको छ।

वि.सं. २०२९ सालमा प्यासिफिक एसोसिएसन अफ ट्राभल एजेन्सी (पाटा) ले पोखराको पर्यटन विकासको गुरुयोजना तयार गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गरेको थियो।

त्यसपछि पहिलोपटक २०३२ सालमा पोखराको छिनेडाँडामा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको हो। विमानस्थल निर्माणका लागि जग्गा अपुग भएपछि २०६९ सालमा थप ६ सय २९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। अहिले फेरि तेस्राेपटक यस विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न लागिएकाे हाे।