छाडा गाईलाई व्यवस्थापन गर्न गौशाला निर्माण हुँदै, ५० प्रतिशत काम सकियो

पाल्पाको रामपुर नगरपालिकामा निर्माणाधीन गौशालाको ५० प्रतिशत काम सकिएको छ । नगरपालिकाले वडा नं ६ स्थित तातोपानीघाटमा गौ संरक्षण गर्ने उद्देश्यले गौशाला निर्माणकार्य अगाडि बढाएको थियो ।

गतवर्षको लक्ष्मीपूजाका दिन निर्माण सकेर गाई राख्ने लक्ष्य रहे पनि पर्याप्त बजेट नहुँदा निर्माणकार्य लम्बिएको हो । चालु आवमा गौशाला निर्माण गर्न नगरपालिकाले रु २० लाख रकम विनियोजन गरेको छ ।

नगरपालिकाबाट प्राप्त रकमले निर्माणकार्य सम्पन्न गर्न अपुग भएपछि महायज्ञ गर्न लागिएको नगर प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । माघको दोस्रो हप्ता हुने श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञका लागि प्रवक्ता न्यौपाने अध्यक्ष रहनुभएको एक हजार एक श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञ मूल आयोजक समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा थानेश्वर अधिकारी र पिताम्वर भण्डारी, सचिवमा वासुदेव ढकाल, कोषाध्यक्षमा चण्डिप्रसाद खनाल रहनुभएको छ । महायज्ञ अवधिभर रु ५० लाख रकम दान सङ्कलन गर्ने लक्ष्य रहेको छ ।

गौशालामा गाई बाँधेर मात्र गौशाला परिसरमै महायज्ञ गरिने भएको छ । गौ संरक्षण गर्न र रामपुर नगरपालिकालाई धार्मिक नगरी क्षेत्रका रूपमा चिनाउन, यत्रतत्र रामपुरमा छाडा छाडिएका गाईलाई व्यवस्थापन गर्न गौशाला निर्माण कार्य सुरुआत गरिएको हो |

अहिले गौशालाको चारैतिरको भाग घेराबार गर्ने काम सम्पन्न भइसकेको छ । भुइँ ढलानको काम चलिरहेको छ । यहाँ करीब २०० देखि २५० सम्म गाई अट्ने क्षमताको गौशाला निर्माण भइरहेको निर्माण समितिका अध्यक्ष ओमप्रकाश रेग्मीले बताउनुभयो । ट्रष्ट राख्ने, गोठको भकारो निर्माण, गेट निर्माण, पर्खालको प्लाष्टर, घाँसपात खाने ठाउँको व्यवस्थापन गर्ने काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

छाडा छाडिएका गाई रामपुर नगरपालिका वडा नं ६ को कार्यालय परिसरमा अस्थायी टहरा बनाएर राखिएको छ । गत साउनदेखि नगरपालिकाले दुई हेरालुलाई तलब दिएर रेखदेखको जिम्मा दिएको छ