कांग्रेसको यस्तो अडानः लोकसेवा आयोगका कर्मचारी सरुवामा सहमति लिनुपर्ने

परामर्श नै नगरी सरुवा गर्न पाउने व्यवस्थाको विरोध

नेपाली कांग्रेसले लोकसेवा आयोगमा कार्यरत कर्मचारी सरुवा गर्दा सरकारले आयोगको सहमति लिनैपर्ने अडान राखेको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको लोकसेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगका कर्मचारीलाई परामर्श नै नगरी सरकारले सरुवा गर्न पाउने व्यवस्था राखिएकोमा कांग्रेसले विरोध गरेको हो । विद्यमान ऐनमा लोकसेवा आयोगमा कार्यरत कर्मचारीलाई सरुवा गर्दा सरकारले आयोगको सहमति लिनुपर्ने छ । तर, सरकारले त्यो व्यवस्था हटाएर विधेयक ल्याएको हो ।

यो विधेयक पारित भएमा लोकसेवा आयोगको विश्वसनीयता, स्वतन्त्रता र निष्पक्षता नरहने कांग्रेसका सांसदहरूको आशंका छ । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले भने, ‘आयोगका कर्मचारीलाई आयोगको परामर्श र सहमतिबिना सरकारले हटाउने हो भने परीक्षा प्रणाली प्रभावित हुनसक्छ । परीक्षा लिने, पेपर जाँच गर्ने, प्रश्नपत्र बनाउने कर्मचारीलाई आयोगलाई नसोधी सरकारले सरुवा गर्दा आयोगको निष्पक्षता र विश्वसनीयतामा आँच आउँछ ।’

कांग्रेसकै सांसद राजेन्द्रप्रसाद केसीले पनि आयोगको संवेदनशीलता बुझेर मात्रै कानुन बनाउन सुझाव दिएका थिए । परीक्षामा संलग्न कर्मचारीलाई आयोगलाई नसोधी सरकारले सरुवा गर्ने व्यवस्था ल्याएकोप्रति उनको आशंका थियो ।

समिति सभापति शशी श्रेष्ठले यसअघिको बैठकमा विवादकाबीच सरकारले ल्याएको व्यवस्था पारित भएको घोषणा गरेकोप्रति असन्तुष्टि जनाउँदै केसीले भने, ‘कानुन निर्माण जनताका लागि हो, कुनै पार्टीका लागि होइन । कांग्रेसका सांसद उपस्थित नरहेको अवस्थामा यो व्यवस्था पारित भएको भन्ने सुनियो, त्यो गलत छ’, केसीले थपे, ‘विधेयकमा संशोधन जुनसुकै सांसले र जुनसुकै पार्टीकाले ल्याएपनि राम्रो भए स्वीकार गर्नुपर्छ ।

आयोगलाई राम्रो बनाउने गरि आएका संशोधन स्वीकार किन गरिएन भनेर बडूले प्रश्न गरेका थिए । उनले भने, ‘यसअघिको ऐनमा सहमति लिनुपर्ने व्यवस्था छ । त्यो किन हटाउँदैछौं भन्ने प्रस्ट छैन । आयोगको विश्वसनीयतामा आँच आएपछि पछुताउनुको अर्थ रहने छैन ।’

कांग्रेसले लोकसेवाको आर्थिक र प्रशासनिक स्वायत्तता खोस्नेगरी सरकारले ल्याएको विधेयकको विरोध गरेका छन् । विधेयकमा आयोगले खर्च गर्ने रकमका शीर्षक अर्थ मन्त्रालयमा देखाउनुपर्ने र आयोग मातहतका कार्यालय खारेज गर्नुपर्ने प्रस्ताव छ ।