यस कारण नेपाली कांग्रेसको बैठक बस्दै नबसि स्थगित

वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला अनुपस्थित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसि स्थगित भएको छ । आगामी बैठक शुक्रवार दिउँसो एक बजे बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण प्रसाद सिटौला उपस्थित नभएपछि आजका लागि बोलाइएको बैठक पनि स्थगित भएको हो ।

कांग्रेसमा १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने, भ्रातृ संगठन, विभाग लगायतमा नेता पौडल सिटौला पक्षधरको असन्तुष्टि रहँदै आएको छ ।

केही दिनयता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु उपस्थित नहुँदा बैठक निरन्तर सर्दै आएको छ । बुधबार दिउँसोका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा पनि रामचन्द्र पौडेल पक्षधर नेताहरु उपस्थित नभएपछि संस्थापन पक्षले बैठक सारेको हो ।

असन्तुष्ट पक्ष उपस्थित नभएपनि पार्टी सभापति शेरबहादुर देउवाले वैठक सञ्चालन गर्ने तयारी गरेको देउवा निकटका नेता विमलेन्द्र निधिले बताएका थिए तर अन्तिम समय आएर बैठक स्थगित भएको हो ।

बोहराटारमा छलफल

बुधवार दिउँसो वरिष्ठ नेता पौडेल निवास बोहराटारमा असन्तुष्ट पक्षका नताहरुको बैठक बसेको छ । पार्टीमा देखिएको समस्या र संस्थापन पक्षसँगमागका विषयमा छलफल गर्न पौडेल पक्षका नेताहरु छलफलमा जुटेका हुन् ।

संस्थापन पक्षले २०७७ मा नै महाधिवेशन गर्ने कार्यतालिका ल्याउने तयारी गरेसँगै असन्तुष्ट पक्ष बैठकमा बस्ने अनुमान गरिएको थियो । संस्थापन पक्षका नेता निधिले १४ औं महाधिवेशन २०७७ मै गर्न सभापति देउवा तयार भएको नेता निधिले बताए ।

‘उहाँहरुले २०७७ सालको मंसिर पहिलो साता महाधिवेशन गरौं भन्ने प्रस्ताव राख्नु भएको छ’ नेता निधिले भने,‘यसबारे छलफल गर्न सकिन्छ तर, २०७७ को फागुन हामीले प्रस्ताव गरेका छौं ।’

असन्तुष्ट पक्षका नेता हृदयराम थानीका अनुसार नेविसंघका बारेमा संस्थापन पक्षसँग सहमति नजिक पुगेको बताए । तर कस्तो खालको सहमति हो भन्ने बारे उनले खुलाएनन् । अब विभाग, तरुण दल र महाधिवेशनको कार्यतालिका बारेमा समस्या रहेको उनको भनाइ छ ।

नेपाली कांग्रेसमा नेविसंघ र तरुण दलको नेतृत्व चयन साथै विभाग गठनको विषयमा समस्या देखिएको छ । संस्थापनले विधानमा व्यवस्था भएको २८ को सट्टा ४१ विभाग प्रस्ताव गरेपछि पौडेल र सिटौला पक्ष असन्तुष्ट बनेका हुन् । उनीहरूले विधानअनुसार नै २८ वटा मात्रै विभाग गठन गर्नुपर्ने बताउँदै आएका छन् । तर, मुख्य विभागमा भाग पाए संस्थापनको संख्या बढाउने तयारीमा सहमति गर्न सकिने सन्देश उनीहरुले संस्थापन पक्षलाई दिएका छन् ।

पौडेल पक्षले नेविसंघ र तरुण दल दुवैमा नेतृत्व दाबी गरेको छ । नियमित समयमा महाधिवेशन गर्न संस्थापनपक्षीय नेतृत्व असफल भएको निष्कर्ष निकाल्दै सो समूहका नेताहरूले नेतृत्व नै दाबी गरेका हुन् ।