तराई–मधेशमा हुस्सु र शीतलहर: परालको घुरमा ज्यान जोगाउँदै विपन्न, यस्तो छ आगामी तीन दिनको मौसम

जल तथा मौसम पूर्वामानुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा सतर्क रहन आग्रह गरेको छ ।

तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो साथै पश्चिमी तराईका थानहरूमा भएको शीतलहरको कारण ति स्थानहरुमा राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट हुने र चिसो झन बढ्न सक्ने महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रही पश्चिमका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

त्यस्तै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ । देशका पश्चिमी भूभागका केही स्थानमा हावा हुरी आउने पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै तराई–मधेशमा तीन दिन चलेको शीतलहर र बाक्लो हुस्सुको कारण त्यहाँका जनजीवन प्रभावित भएको छ । पूर्वपश्चिम राजमार्ग वरपर तुसारोसँगै सिरेटो चलेको छ भने मध्य र दक्षिणी क्षेत्रमा भने बाक्लो हुस्सुले ढाकेको छ ।

तुसारोसहितको चिसो सिरेटोले सर्वसाधारण बाहिर निस्कन नसकेपछि बजारु चहलपहल स्वात्तै घटेको छ । एक्कासि बदलिएको मौसमले व्यापार व्यवसाय मात्र नभएर कृषिकार्य पनि प्रभावित भएका छन् ।

तीन दिनदेदी शुरु भएको शीतलहरका कारण तराई–मधेशका विपन्न परिवार चिसोका कारण छट्पटाइरहेका छन् । तराईका जिल्लाहरुमा परालको घुरमा ज्यान जोगाउन बाध्य छन् । एकसरो लुगाका भरमा शीतलहर कट्नुपर्ने बाध्यता तराई–मधेशका विपन्न परिवारको छ ।

न्यानो लुगा जोड्ने आर्थिक हैसियत नभएका सुकुमबासी, विपन्न थरथर काम्दै घरधन्दा र मजदुरी गर्छन् । जाडो छल्न परालको आगो बाल्छन् तर परालको आगो धेरैबेर टिक्दैन, निभिहाल्छ ।

शीतलहरसँगै बढेको चिसोले बजार तथा कार्यालयहरूमा हुने चहलपहल न्यून देखिएको छ भने प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको जनजीवन प्रभावित भएको छ ।

आगामी तीन दिनको मौसम
पुस ३ गते (बिहीबार)
दिउँसो : देशको पश्चिमि भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु र कुहिरो रहनेछ ।

राति : देशको पश्चिमि र मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ । अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेनछ ।

पुस ४ गते (शुक्रबार)
दिउँसो : देशको पश्चिमि र मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भूभागमा आंशिक वदली रहनेछ । साथै पश्चिम भेगका उच्च पहाडि र हिमालि भूभागमा हल्का हिमपात र पश्चिमि पहाडि भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : देशभर आंशिक बदलिकदेखि सामान्य वदली रहने छ । पश्चिम भेगका उच्च पहाडि र हिमालि भूभागमा हल्का हिमपात र पश्चिमि पहाडि भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

पुस ५ गते (शनिवार)
दिउँसो : देशको पश्चिमि र मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भूभागमा आंशिक वदली रहनेछ । साथै पश्चिम भेगका उच्च पहाडि र हिमालि भुभागमा हल्का हिमपात र पश्चिमि पहाडि भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : देशको पश्चिमि भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भूभागमा मौसम समान्यतया सफा रहनेछ ।