आइजीपी खनालले चिनियाँ समात्ने योजना यसरी स्यान्टियागोमै बनाएका थिए

गत २८ असोजदेखि १ कात्तिकसम्म चिलीमा आयोजित इन्टरपोलको ८८औं महासभामा भाग लिन चिलिको राजधानी स्यान्टियागोमा पुगेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र चिनियाँ इन्टरपोलका प्रमुखबीच चिनियाँ नागरिकले नेपाल बसेर साइबर अपराध र मनी लाउण्डिङ लक्षित अपराधिक घटना गराइरहेको भन्दै विशेष निगरानी राख्ने सहमति भएको थियो । नेपालमा बढ्दै गएको चिनियाँ अपराधीहरुको गतिविधि नियन्त्रण गर्ने विषय नेपाल प्रहरीको टाउको दुखाइको विषय बनिरहेका बेला त्यही योजनाअनुरुप नेपालमा अपराध गर्दै आएका चिनियाँहरुलाई पक्राउ गर्ने तयारी हुन पुग्यो ।

आइजीपी खनालले स्वदेश फर्केपछि चिनियाँ अपराधीहरुलाई पक्राउ गर्न आन्तरिक तयारी अगाडी बढाए । ‘स्वीप अपरेशसन’ नाम दिदै आईजीपी खनालले प्रत्यक्ष निगरानीका साथ केन्द्रीय अनुसन्धान व्युरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंलाई अत्यन्तै गोप्य र सुक्ष्म ढंगले यसलाई अगाडी बढाउन निर्देशन दिए । चिनियाँ प्रहरीहरुको सूचनालाई आधार मान्दै प्रहरीले चिनियाँ अपराधीलाई समाउन दुई महिनाको आन्तरिक गृहकार्य गरेपछि सफलता हात परेको हो ।

चिनियाँ नागकिहरु नेपालमा बसेर विभिन्नखाले अपराध गर्दै आएका थिए । उनीहरुले नेपालमा बसेर इन्टरनेटको माध्यमबाट चिनियाँ नागरिकलाई नै फसाउने गरेका थिए । उनीहरुले आर्थिक अपराध समेत गर्दै आएका थिए । यसरी अपराध गर्न थालेको कुरा चिनियाँ सुरक्षा निकायमा पीडित चिनियाँ नागरिकले जाहेरी दिएपछि यो विषयको खुलासा भएको थियो । यसपछि नेपालमा बसेर अपराधिक क्रियाकलापमा सक्रिय एक सय २२ जनालाई सोमबार पक्राउ गरिएको हो ।

नेपालमा बसेर उनीहरुले पुरुष भए महिला र महिला भए पुरुषले फसाउने गरेको तथ्य सार्वजनिक भएको छ । उनीहरुले घरपरिवारमा नराम्रो सम्बन्ध भएकाहरुलाई टार्गेट गर्दै फसाउने गरेका थिए । उनीहरु एउटै क्वार्टरमा १२ देखि १५ जनासम्म बस्ने गरेको रहस्य समेत खुलेको छ । वि च्याटदेखि विभिन्न जुवाजन्य अनलाइनमार्फत आर्थिक लगानी गर्न प्रेरित गर्ने गरेका थिए । त्यसरी लगानी मात्रै नगराई उनीहरुले रकम माग्ने र नदिए नाङ्गेझार पार्नेसम्मको गर्ने गरेका थिए ।

उनीहरुको विषयमा बुझ्नको लागि चीनले डेढ साताअघि गुप्तचर निर्देशकसहित ६ जनाको एउटा टोली काठमाडौं पठाएको थियो । त्यो टोलीले सबभन्दा पहिला अध्यागमन विभागमा गएर कुरा बुझेको थियो । उनीहरुले त्यसबेला साइबर क्राइमदेखि विभिन्न अपराधमा चीनको फुजियान प्रान्तका बासिन्दा बढी संलग्न भएको बताएका थिए । फुजियान भनेको चीनविरोधी भूमि ताइवानको वारिपट्टि पर्छ । त्यहाँका विभिन्न अपराधीहरू श्रीलंका, फिलिपिन्स, कम्बोडिया, मलेसिया, भियतनाममा छरिएर रहेका छन् ।

नेपालको खुला नीतिका कारण उनीहरु नेपालमा आई त्यस्तो अपराधमा संलग्न भएको खुलेको हो । नेपालले चीनियाँहरुका लागि भिसा शुल्क लिदैन । त्यसैको फाइदा ती अपराधीहरुले लिएका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा ओर्लनासाथ उनीहरुले एक सय ५० दिन बस्न पाउछन् ।

यसरी नेपालमा बसेर चीनकै व्यक्तिलाई ठगी गरिरहेका चिनियाँहरु एक हजारको हारहारीमा रहेको चिनियाँ अधिकारीसँग तथ्याङ्क छ । सोही तथ्याङअनुसार उनीहरु नेपाल आएको र सबैलाई पक्राउ गर्न नेपाल प्रहरीलाई आग्रह गरेको छ । सोही अुनसार ती १२२ जना पक्राउ परेका थिए ।

उनीहरुलाई पक्राउ गरेपनि चीन लैजानको लागि गाह्रो भएको छ । सुर्पुदगी सन्धि नभएको कारण उनीहरुलाई सिधै चीन लैजान गाह्रो भएको हो । यसरी लैजानका लागि कम्तीमा ४ वटा प्लेन चार्टर गर्नुपर्ने हुन्छ । तर त्यो पनि कानुनी रुपमा बाधा देखिएपछि उनीहरुले राष्ट्रपति सि जिनफिङ नेपाल भ्रमणमा आएका बेला भएको सम्झौताअनुसार, उच्चस्तरको समन्वय, अपराध र अपराधीबारे सूचना आदानप्रदान र एकापसमा सहयोग गर्ने भन्ने विषयमा टेकेर लैजान सकिने विषय सुझाएका थिए । यस्तै प्रहरीले अवैधानिक आप्रवासी तथा संगठित अपराधको कसुरमा संलग्न भनी अध्यागमनमा पेश गरे फिर्ता पठाउने व्यवस्था रहेको छ ।

यस विषयमा प्रहरी महानिरीक्षक खनालले आफ्नो सरकारी निवासमा सिआइबी, अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरका प्रमुखहरूलाई बोलाई तिनीहरुबारे पत्ता लगाउन र उनीहरुलाई पक्राउ गर्नका लागि निर्देशन दिएका थिए । त्यही निर्देशनअनुसार उनीहरुलाई सोमबार पक्राउ गरिएको हो ।

सोमबार बिहान बालाजु, नयाँबसपार्क, तिलिंगेटार र महाराजगञ्जका प्रहरी युनिटलाई दिउँसो २ बजेसम्म काम सिध्याउने गरी स्ट्याण्डबाई राखिएको थियो । तर, अनुमानित समयअगावै, अर्थात १ बजेभित्रै पहिचान भएका अखडाबाट शंकास्पदहरू नियन्त्रणमा आएका थिए ।

उनीहरुलाई राजधानीका मनमैजु, महाराजगन्ज र बूढानीलकण्ठबाट सीआईबी, काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

यस अपरेशनको बारेमा दूतावास र प्रहरी हेडक्वार्टरबीच नियमित सम्पर्क रहेको थियो । मानिसहरू पक्राउ परेको सूचना हेडक्वार्टरले दिनासाथ दूतावासले बेइजिङमा खबर पठायो । अहिले पक्राउ परेकाहरुलाई चीनले उनीहरुलाई लैजानका लागि अवैधानिक आप्रवासीको रूपमा सम्बन्धित देश फिर्ता पठाउने कानुनअनुसार कागज बनाउन नेपाल सरकारलाई अनुरोध गर्ने भएको छ । उनीहरुलाई लिनका लागि चार्टड प्लेन आउने बित्तिकै त्यही कानुनु अनुसार उनीहरुलाई चीन पठाउने तयारी नेपालले गरेको छ ।

उता चिनियाँ विशेषज्ञ टोलीले अझै २ हजार चिनियाँ नागरिक आर्थिक अपराधमा संलग्न रहेर नेपालबाट चीनमा आर्थिक अपराधका घटना गराइरहेको सूचना नेपाल प्रहरीलाई दिएको छ । उनीहरू राजधानीका काठमाडौं, भक्तपुर र ललितपुरसहित पोखरा, चितवन र लुम्बिनी आसपास रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्