नेपालका लागि नयाँ भारतीय राजदूतमा मिश्राको नाम चर्चामा

आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी आगामी १५ गते नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी स्वदेश फर्कने तयारी गरिरहँदा उनको ठाउँमा भारत सरकारले नयाँ राजदूतको नाम टुंगो लगाइसकेको छैन ।

स्रोतका अनुसार आगामी हप्ताभित्र यसबारे भारत सरकारले निर्णय गर्ने बताइन्छ । केही दिन अघिमात्र भारतीय विदेश सचिव विजय केशव गोखलेले अवकाश लिएपछि भारत सरकारले हर्षवर्धन स्रिंगलालाई विदेश सचिवमा नियुक्त गरेको छ ।

स्रिंगला विदेश सचिवमा नियुक्त हुँदै गर्दा अमेरिकाका लागि भारतीय राजदूतका रुपमा कार्यरत रहेका छन् । गोखलेको कार्यकाल आगामी जनवरी २८ मा सकिँदैछ ।

नवनियुक्त स्रिंगलाले आगामी जनवरी २० देखि विदेश सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

नयाँ विदेश सचिवको नियुक्ति पछि भारत सरकारले नेपालका निम्ति नयाँ राजदूतको खोजी गर्न थालेको छ । सत्तारुढ भारतीय जनता पार्टीसँग निकट रहेका अखिलेश मिश्राको नाम सम्भावित राजदूतका रुपमा चर्चामा छ ।

साउथ ब्लकबाट नेपाल र भूटान मामिलासमेत हेरिसकेका करियर डिप्लोम्याट मिश्राको नाम चर्चामा परेको हो ।

यस्तै नेपालका लागि नयाँ राजदूतमा सैयद अकबरुद्दिन पनि चर्चामाम छन् । उनी सन् २०१६ को जनवरीमा विदेश प्रवक्ताको जिम्मेवारी पूरा गरेका अकबरुद्दिन हाल संयुक्त राष्ट्रसंघको निम्ति स्थायी प्रतिनिधि छन् ।

यसैगरी नेपालमा बसिसकेका गोपाल वाग्ले नाम पनि चर्चामा छ ।