मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ यात्रा शुरु

भद्रपुर । च्याउ उत्पादक किसान सङ्घ नेपालले अनाधिकृत रुपमा भारतबाट आयत हुने कम गुणस्तरका च्याउको आयात बन्द गर्न, स्वदेशमै भइरहेका गुणस्तरीय च्याउ उत्पादन र बजारीकरणमा सहजीकरण गर्न सरकारसँग माग गर्दै आजदेखि मेची महाकाली यात्रा शुरु गरेको छ ।

आज बिहान पूर्वी नाका काँकडभिट्टाबाट राष्ट्रिय च्याउ जागरण अभियान २०७६ को उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गरे । देशभरका ३५ हजार च्याउ किसान सङ्गठित भएको संस्थाले पहिलोपटक जागरण अभियान सञ्चालन गरेको सङ्घका अध्यक्ष प्रेमनारायण अधिकारीले बताए ।

उनले यात्रामा मेचीदेखि महाकालीसम्मका २९ वटा स्थानमा च्याउ किसान, व्यवसायी, स्थानीय तहहरुसँग अन्तरक्रिया गर्दै उत्पादनमा आधारित अनुदानलाई प्रभावकारी बनाउन, बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने सहुलियत दरको कर्जा सहजरुपमा उपलब्ध गराउन, च्याउ बीमा प्रभावकारी रुपमा लागू गराउन, पोष्ट हार्भेस्टसम्बन्धी उच्च ज्ञानको आदानप्रदान गर्नुका साथै किसानको समस्या पहिचान गरी समाधानको पहल गरिने बताए ।

सरकारलाई राष्ट्रिय च्याउ केन्द्र स्थापनाका लागि नीति बनाउन दबाब सिर्जना गर्नका लागि यात्राकै क्रममा यही पुस १५ गते हेटौँडामा बृहत् ¥यालीसहित दबाबमूलक कार्यक्रम गरिने सङ्घका सहअध्यक्ष चित्रराज तिम्सिनाले बताए । उनले २९ गते डडेलधुरा पुगेर यात्रा सकिने र पुनः काठमाडौँ नै पुगेर भव्य कार्यक्रम आयोजना गरी समापन गरिने बताए ।

यात्रामा नेपाल सरकार कीट विकास केन्द्र हरिहरभवन ललितपुर, कृषक समूह महासङ्घ नेपाल, अष्टअभियान नेपाल र नेपाल कृषि उत्पादन तथा बजारीकरण सञ्जालको सहकार्य तथा एक्यबद्धता जनाएका छन् । यात्रामा देशभरका च्याउ किसान सहभागी रहेको अध्यक्ष अधिकारीको भनाइ छ । रासस