यस्तो देखियो सूर्य ग्रहण हेर्नुहोस् केही तस्विरमा

काठमाडौँ । बिहीबार खण्डग्रास सूर्य ग्रहण लागेको छ । बिहान ८ बजेर ४३ मिनेटमा ग्रहण लाग्न सुरु भएको थियो । ग्रहण काठमाडौं, महेन्द्रनगर र कञ्चनपुरबाट चन्द्रमाले सूर्यलाई ३९ प्रतिशत र भद्रपुर झापाबाट ३६ प्रतिशत ढाकेको देखिन्थ्यो । काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरु भएको ग्रहण पश्चिमी नेपालको महेन्द्रनगरबाट बिहान ८ बजेर ३८ मिनेटमा र पूर्वी नेपालको भद्रपुरमा बिहान ८ बजेर ४८ मिनेटमा सुरु भएको हो ।

छिमेकी मुलुक भारतको दक्षिणी भाग कर्नाटक, केरला र तमिलनाडुको केही खण्डबाट यसलाई ‘एनुलर’ सूर्य ग्रहणका रूपमा देख्न सकिन्थ्यो । भारतमा बलयाकार सूर्यग्रहणका बेला सूर्यको करिब ९३ प्रतिशत खण्ड चन्द्रमाले ढाकिएको थियो । एनुलर पथ साउदी अरबबाट सुरु भएर कतार, ओमान, संयुक्त अरब इमिरेट्स, श्रीलंकाको उत्तरी भाग, मलेसिया, सिंगापुर, सुमात्रा, बोर्नियो हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त हुने प्लानेटोरियमले जनाएको छ।

पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँदा र त्यसको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ। यो सघन छाया र विरल छाया गरी दुई खालको हुन्छ। सघन छाया भएको भागमा पूर्ण सूर्यग्रहण अर्थात् खग्रास देखिन्छ। विरल छाया परेको भागमा आंशिक सूर्यग्रहण अर्थात् खण्डग्रास देखिन्छ । बर्सेनि दुईदेखि पाँचपटकसम्म सूर्यग्रहण लाग्छ। पछिल्लो समय सन् १९३५ मा पाँचपटक सूर्यग्रहण लागेको थियो। अब सन् २२०६ को वर्षमात्र यो प्रक्रिया दोहोरिनेछ।

सूर्यग्रहणलाई नांगो आँखाले हेर्दा दृष्टिमा क्षति पुग्ने विज्ञले चेतावनी दिएका छन् । वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा डा डीएन साहका अनुसार ग्रहण लागेका बेला सूर्यलाई हेरिरहँदा ‘फोटो रेटिनाइटिस’ अर्थात् आँखाको पर्दामा नकारात्मक प्रभाव पर्छ ।

सूर्य ग्रहणका तस्बिरहरु