ज्येष्ठ नागरिक सेवा केन्द्रलाई टिभी र युरोगार्ड

कास्की निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखरा–५ बगैँचास्थित ज्येष्ठ नागरिक क्लब दिवा सेवा केन्द्रलाई युरोगार्ड र टेलिभिजन प्रदान गर्नुभएको छ ।
ज्येष्ठ नागरिकलाई शुद्ध पिउने पानीका साथै मनोरञ्जनका लागि उपलब्ध गराउनुभएको रु ४६ हजार मूल्य बराबरका उक्त सामग्री एक कार्यक्रमका बीच पहारीले केन्द्रका अध्यक्ष विश्वनाथ पराजुलीलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा उहाँले प्रदेशसभाबाट प्राप्त सेवा–सुविधा जनताप्रति समर्पित गर्ने अभियानअन्तर्गत हालसम्म निर्वाचन क्षेत्रका ४३ सामुदायिक विद्यालयलाई रु १२ लाख मूल्य बराबरका ५० थान युरोगार्ड प्रदान गरिसकेको जानकारी दिनुभयो ।

जसले भगवान् सरहका आमा–बुबालाई श्रद्धा गर्न सक्दैन, त्यस्ता सन्तान बाँच्नुको कुनै अर्थ नरहेको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकको सेवाले समाजलाई सतमार्गमा लैजान सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरेलीको अपेक्षा योगदानको कारण रत्न मन्दिर र हिमागृहलाई निकट भविष्यमा खुला हुने विश्वास व्यक्त गर्दै उहाँले फेवातालको संरक्षणअन्तर्गत तालको शिरका विभिन्न चार स्थानमा सिल्टेसन बाँध र पोखरा निर्माण भइरहेको बताउनुभयो । रत्नमन्दिर परिसरमा उद्यान निर्माणका लागि रु २५ लाख विनियोजन गरेको उल्लेख गर्दै प्रदेशसभा सदस्य पहारीले बितेको दुई वर्षमा कानून निर्माण वर्ष भएको र बाँकी तीन वर्षको अवधिमा विकास निर्माणसँगै सामाजिक न्यायका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नियमित प्रवचन, भजनकीर्तनलगायतका विभिन्न मनोरञ्जनका कार्यक्रम हुने सो क्लबमा दैनिक १०० भन्दा बढी ज्येष्ठ नागरिक सहभागी हुने गरेको केन्द्रका अध्यक्ष विश्वनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । कार्यक्रममा वडासदस्य उज्वल खत्री, ज्येष्ठ नागरिक क्लबका सचिव दुर्गाबहादुर सुनारलगायतले सेवा केन्द्र आवश्यकतानुसार अन्य वडामा पनि सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।