यसरी हुँदैछ आजदेखि भ्रमण वर्षको शुभारम्भ

काठमाडौँ– सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को आज बुधबार अर्थात सन् २०२० जनवरी १ तारिख (पुस १६ गते) देखि शुरु हुँदैछ । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमण वर्षको भव्य उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा बुधबार पूर्वाभ्याससमेत गरिएको थियो । उद्घाटन समारोहलाई विशेष बनाउन सबैखालको तयारी गरिएको सचिवालयले जनाएको छ ।

अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ । सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ । नेपालको संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घसंस्थाले परेड गर्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम तालिका बनाइएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त रूपमा लागिपरेका छन् । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

भ्रमण वर्षमा विदेशी पाहुना

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौँ आइपुगेका छन् । काठमाडौँको दशरथ रङ्गशालामा बुधबार अपराह्न ४ बजे आयोजना हुने भ्रमण वर्षको औपचारिक शुभारम्भ समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीनसहित विभिन्न देशका पर्यटनमन्त्री तथा विशिष्ट पाहुना काठमाडौँ आइपुगेका हुन् ।

भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ नेपाल आएका छन् । भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ पनि काठमाडौँ आएका छन् । भ्रमण वर्ष कार्यक्रममा सहभागी हुन नेपाल आएका चारै देशका पाहुनालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले स्वागत गरे ।

भ्रमण वर्षमा सहभागी हुन भूटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरू पनि काठमाडौँ आएको पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए । भ्रमण वर्षको उद्घाटन कार्यक्रमका लागि दक्षिण एशियाली, मध्यपूर्वी, युरोपलगायत मुलुकका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधि आइसकेको उनले बताए ।

भ्रमण वर्ष २०२० को बुधबार जनवरी १ (पुस १६ गते) भव्यरूपमा उद्घाटनका लागि सम्पूर्ण तयारी सकिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गनेृछिन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथिको रूपमा मन्तव्य दिने कार्यक्रम रहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

जीडीपीमा पर्यटनको १० प्रतिशत योगदान ; पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको कम्तिमा १० प्रतिशत योगदा हुने गरी पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासको कामसँगै अघि बढाइने बताएका छन् ।

उनले हालको तीन प्रतिशत योगदानलाई आगामी वर्षमा १० प्रतिशत पु¥याउने सरकारको योजना रहेको सुनाए । सरकारले १५ औँ पञ्चवर्षीय योजनामा प्रमुख प्राथमिकतायुक्त क्षेत्रको रूपमा पर्यटनलाई लिएको छ । पाँच वर्षको अवधिमा कम्तीमा पर्यटन क्षेत्रबाट जीडीपीमा १० प्रतिशत योगदान पुग्ने मन्त्री भट्टराईको विश्वास छ ।

नेपाल पर्यटन बोर्डको २१औँ वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई आधार मानेर आगामी सन् २०३० सम्म पर्यटक दशकको रूपमा मनाउने र त्यसले पर्यटनको अर्थतन्त्रमा योगदान बढ्ने विश्वास व्यक्त गरे । भ्रमण वर्ष २०२० लाई पर्यटन क्षेत्रको विकासको अभियानको रूपमा लिनुपर्ने बताउँदै यसलाई नेपालमा सबैभन्दा बढी रोजगारी दिने क्षेत्रको रूपमा विकास गर्न सकिने धारणा राखे ।