नेपाल प्रहरीमा शान्ति मिसन नगई यूएनको तक्मा

काठमाडौँ । गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पुस १४ गते नेपाल प्रहरी अस्पतालको प्राविधिक अतिरिक्त महानिरीक्षक एआईजी तथा कार्यकारी निर्देशकमा प्राविधिक डीआईजी आशा सिंहलाई सिफारिस गर्‍यो ।

डीएसपीदेखि डीआईजीसम्म बढुवाको वरीयताक्रममा १ नम्बरमा रहेका मीनराज पाठकको सट्टा दोस्रो नम्बरकी सिंहलाई एआईजीमा सिफारिस गरिएको थियो । तिनै सिंहले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी नभई यूएनको तक्मा लगाएको भेटिएको छ ।

अस्पतालकी एआईजी दुर्गा थापा पुस ४ गते अवकाश भएपछि वरिष्ठ डीआईजीका रूपमा पाठकलाई निमित्तको जिम्मेवारी दिइएको थियो । तर ०७४ र ०७५ को कार्यसम्पादन मूल्यांकनमा अस्पतालका वरिष्ठ डीआईजी पाठकभन्दा सिंह अगाडि रहेको पाइएपछि बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।

पाठक वरिष्ठ बालरोग विशेषज्ञ र सिंह महिला रोग विशेषज्ञ हुन् । ०५२ सालमा सँगै सेवा प्रवेश गर्दा निरीक्षकमा सिंह पहिलो नम्बरमा थिइन् । त्यसपछि पाठक लगातार पहिलो र सिंह दोस्रो नम्बरमा थिए ।

कान्तिपुरलाई प्राप्त सिंहको डीआईजी पोसाक रहेको तस्बिरको बायाँतर्फ तल्लो भागको पदक यूएनमा सेवा गरेबापत पाउने सम्मान हो । सिंहले कार्यालय पोसाकमै सुडान मिसनमा सहभागी भएबापत प्रदान गरिने तक्मा लगाएको देखिन्छ ।

युनाइटेड नेसन्स मिसन इन सुडान अनमिसबाट प्राप्त हुने तक्मा सिंहले लगाएकी छन् । तर प्रहरीको अभिलेखअनुसार सिंहले कुनै पनि मिसनमा भाग लिएकी छैनन् । सिंहले पनि आफू शान्ति मिसन नगएको बताइन् ।

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले यस विषयमा आफूलाई जानकारी नभएको बताए । तर प्रवक्ता थापाले मिसनमा सहभागी नभई ‘राष्ट्रसंघमा योगदान गरेबापत पाउने सम्मान वा पदक’ लगाउनु गैरकानुनी हुने बताए ।

‘सिंहले मिसन नगई तक्मा लगाएको विषयमा मौखिक उजुरी आए पनि लिखित रूपमा कुनै निवेदन परेको छैन,’ गृह मन्त्रालय स्रोतले भन्यो । अनधिकृत रूपमा राष्ट्रसंघको तक्मा लगाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र गृहसचिव राईलाई जानकारी गराइएको प्रहरी स्रोतले बतायो ।