नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहाको तस्वीर नेपाली नोटमा अंकित गर्न सरकारसँग माग गर्नुभएको छ । पृथ्वी जयन्तीका अवसरमा अध्यक्ष थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउँदै शाहको तस्वीर नेपाली नोटमा अंकित गर्न माग गर्नुभएको हो । विगतमा शाहको बारेमा भ्रम र नराकात्मक सोचहरु रहेता पनि अहिले सबै राजनीतिक दल र नेताहरु सकारात्मक रुपमा लिएकोमा खुसी व्यक्त गर्नुभयो । थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, २७ गते सार्वजनिक दिवसका रुपमा मनाएर बिदा दिन र उहाँको तस्वीर नेपाली नोटमा अंकित गर्न सत्तारुढ दल, सरकार र प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

थापाले देशमा देखा परेको सबै प्रकारका चुनौतीको सामना गरेर शान्ति र स्थायित्व कायम गरी सबल र समुन्नत नेपाल निर्मामा सबै राजनीतिक दलहरु एकता र सहमतिमा आउनुपर्ने उहाँले बताउनुभयो ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय एकताको सन्दर्भमा शाहले ठोस आधार तयार गर्नुभएको कुरालाई सम्मानका साथ सम्झिनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय एकताको जगमा उभिएर देशका सबै जाति, भाषा, धर्म र संस्कृतिलाई जनतालाई एकताबद्ध बनाउँदै निरन्तर अगाडि बढ्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिएर एकता दिवस सरकारी स्तरबाट भव्यताका साथ मनाउनुपर्ने बताउनुभयो । शाहले बनाएको मुलुकलाई सबैले संरक्षण गरी राष्ट्रिय दिवसका रुपमा मनाउनुपर्ने उहाँको धारणा थियो । आइतबार पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभरी नै विभिन्न कार्यक्रम गरी मनाइएको छ ।