बालुवाटारमा विप्लव समुहले बम राख्दा प्रधानमन्त्री निवासमा हलचल !

काठमाडौं । हिजो बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवाससँगै रहेको ललिता निवास र ललितानिवास जग्गाकाण्डका एक मुख्य नाईके शोभाकान्त ढकालको नागार्जुन नर्सरीटोलस्थित घरमा शक्तिशाली बम बिस्फोट भएको घटनाले संघीय राजधानीमै त्यो पनि प्रधानमन्त्रीको निवाससँगै बम राख्ने, जग्गा कब्जा गरेकोे झण्डा राख्ने र बम बिस्फोट गराउने घटनाले सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठाएको छ ।

सभामुख निवास, नेपाल राष्ट्र बैंक, प्रधानन्यायाधीश र प्रधानमन्त्रीका सरकारी निवास रहेका कारण २४ सै घण्टा उच्च सुरक्षा सतर्कता हुने स्थान नजिकै बम फेला परेपछि महानगरीय प्रहरी आयुक्त कायर्कालयका डिआईजी विश्वराज पोखरेल र काठमाडौका एसएसपी उत्तमराज सुवेदीका साथै सुरक्षा संयन्त्रमाथि प्रश्न चिन्ह खडा भएको छ । यस्तो संवेदनशील स्थानमा बम र ब्यानर राख्दा समेत सुरक्षा संयन्त्रको ध्यान नपुगेको भन्दै यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो ब्यक्त गरेको बताईएको छ ।

घटनाको जिम्मेवारी नेत्रबिक्रम चन्द९विप्लव० नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ । ढकालको घरमा राखिएको बम विस्फोट हुन पुग्यो भने ललितानिवास कम्पाउण्डमा राखेको बम नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ । तर अहिलेसम्म प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको न त पहिचान गर्न सकेको न त पक्राउ नै गर्न सकेको छ ।

यो घटना विप्लव समूहका उपत्यका ईन्चार्ज चिरन पुन९हितमान० को नेतृत्वमा भएको बताईन्छ । पुनलाई विप्लव समूहको नारायणी ब्युरो ईन्चार्जबाट केही समय अगाडी उपत्यका ब्युरो ईन्चार्जमा ल्याईएको थियो । यसअगाडी उपत्यका ईन्चार्ज रहेका माईला लामालाई गत साउन ४ गते काठमाडौ काँडाघारीबाट प्रहरीले पक्राउ गरेपछि विप्लव समूहले नविन विकलाई उपत्यका ईन्चार्जको जिम्मेवारी दिएको थियो ।

नविनलाई पनि गत असोज ६ गते ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।त्यसपछि काठमाडौं, ललितपुर र भक्तपुर तथा नुवाकोट, रसुवा र धादिङ गरी ६ जिल्लालाई समेटेर विप्लव समूहले बनाएको उपत्यका ब्युरो ईन्चार्जमा चिरनलाई ल्याईएको हो ।
चिरनले उपत्यकाको कमाण्ड सम्हालेपछि पहिलो एक्सनका रुपमा यो घटनालाई लिदै घटनाको जिम्मेवारी विप्लव समूहले लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता होबिन्द्र बोगटीले घटनामा संलग्नताको खोजी भईरहेको बताए ।