अन्नपूर्ण आधार शिविरमा ११ अझै बेपत्ता, खोजी जारी

पोखरा– अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई आज हेलिकप्टरबाट उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण माछापुच्छ्रे आधार शिविर, छुमरुङ, देउराली र हिमालयन लगातका विभिन्न स्थानबाट अलपत्र परेका एक सयभन्दा बढी पर्यटकलाई उद्धार गर्नेक्रम जारी रहेको जानकारी दिए ।

प्रभु, सिम्रिक र डाइनाष्टिक कम्पनीका तीन वटा हेलिकप्टर मार्फत् अलपत्र परेका स्वदेशी तथा विदेशी पर्यटकलाई उद्धार गरिएको उनले बताए । उद्धार गरिएका मध्ये ३० जनालाई पोखरा, छुमरुङ ल्याइएको जनाइएको छ । स्थलगत रुपमा प्रहरी, स्थानीय जनता र टानको टोली उद्धारमा जारी रहेको छ ।

सो क्षेत्रमा पाँचदेखि सात फिटसम्म हिउँ परेको कारण कतिपय पर्यटक अलपत्र परेको हुन सक्ने टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए । अत्यधिक चिसोको कारण उद्धारमा कठिनाइ भएको छ । त्यसैगरी अन्नपूर्ण पदयात्रामा गएका चार जना चिनियाँ पर्यटक सम्पर्क विहीन भएका छन् ।

मनाङको निस्याङ गाउँपालिका–९ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चेकपोस्टमा गत पुस २७ गते थ्रोङ्ला पासका लागि अनुमति लिएका पर्यटकहरुले आजसम्म थोरङ्ला पार नगरेको तथा सम्पर्कमा नआएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।

हराएका पर्यटकमा दुई महिला र दुई पुरुष छन् । ह्वाङ इहिन (राहदानी नं इजी ११२९६२) र छाथ स्थाउ थिङ( राहदानी नं इओ ५२५६४८०) छन् । दुई जना पुरुषमा मा क्वायन्ली (राहदानी नं इसी ३४६७१०) र एनबड जाड (राहदानी नं इ ६६८७००५) रहेका छन् ।

अन्नपूर्ण संरक्षण कार्यालयबाट घटनाको बारेमा जानकारी प्राप्त हुने वित्तिकै हुन्दे प्रहरी चौकीबाट प्रहरी टोली खटिइ हराएका पर्यटकको बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

केही दिनदेखि लगातारको वर्षा तथा हिमपातका कारण पदयात्रामा जाने पर्यटकले सास्ती पाउँदै आएका छन् । विश्व चर्चित अन्नपूर्ण पदयात्राको क्रममा मनाङबाट थोरङ्ला पार गरेर पर्यटक मुस्ताङ हुँदै पोखरा भित्रिने गरेका छन् ।