नेपाल एयरलाइन्सका २५ जना पाइलटको सामूहिक राजीनामा

काठमाडौं । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । निगमका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका हुन् ।

यति धेरै पाइलटले एकै पटक राजीनामा दिएका यो पहिलो पटक हो । तीन महिनाको समयसीमा दिँदै पाइलटहरूले व्यवस्थापनसमक्ष राजीनामा बुझाएका हुन् । उनीहरूले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाए पनि विदेशीलाई सेवा सुविधा धेरै दिएको उनीहरुको भनाइ छ ।

अन्तर्राष्ट्रिय उडान भर्ने पाइलटमा ४० जना नेपाली छन् भने विदेशी १५ जना छन् । ४० जनामध्ये २५ जनाले विहिबार सामूहिक राजीनामा दिएका हुन् ।

निगमले नेपाली पाइलटको केही समयअघि दुई महिनाको तलब नदिएको र विगत पाँच महिनादेखि बिनासूचना एक लाख रुपैयाँ पनि अतिरिक्त रकम काटेको गुनासो पाइलटहरुले गरेका छन् ।

पाइलटहरूका अनुसार विदेशीले महिनामा ४६ घन्टामात्र जहाज उडाउँछन् भने हप्तामा २ दिन छुट्टी पाएँछन् । तलब भने उनीहरूले १५ लाख पाउँछन् त्यसको कर पनि व्यवस्थापनले नै तिरिदिने गरेको एक पाइलटले बताए । तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घन्टा जहाज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन् । नेपाली पाइलटले कर आफैंले तिर्दै आएका छन् ।