कुसल गायक एवं गीतारवादक गोर्खालीको निधन

काठमाडौं– कुसल संगीतकर्मी आकास गोर्खालीको निधन भएको छ ।

लोकप्रिय गीतारवादक, एरेञ्जर, गायक तथा संगीतकार गोर्खालीको शनिबार निधन भएको हो ।

झापा बुधबारे स्थायी घर भएका गोर्खाली काम विशेषले आफ्नो गृहजिल्लामा रहेको समयमा मस्तिष्कघात हुँदा उपचारकै क्रममा झापा विर्तामोडस्थित वी एण्ड सी अस्पतालमा उनको निधन भएको गायक एवं संगीतकार धनु ग्याङ्मी मगरले जानकारी दिए ।

दुई दर्जनभन्दा बढी गीतमा स्वर दिएका र अनुराग, आगासीलगायत ४ वटा एकल एल्वम बजारमा ल्याईसकेका र हजारौँ गीतमा गीतारवादन गरेका गोर्खाली एक कुसल संगीत संयोजक समेत थिए ।

संगीतमा स्नातक गरेका गोर्खालीले राष्ट्रिय नाचघरमा ४ वर्षभन्दा बढी गीतारको शिक्षण गरेका थिए भने विभिन्न इन्स्टिच्युटहरुमा पनि संगीतको अध्यापन गराउने गर्दथे । गोर्खाली उपत्यका सांस्कृतिक कमिटी काठमाडौंको सदस्य भएर लामो समय सांगठनिक रुपमा पनि सक्रिय भए भने २०५८ सालदेखि राष्ट्रिय जनसांस्कृतिक मञ्चको सदस्यको रुपमा रहेर काम गरे । उनी जनसंगीत मञ्चको पनि केन्द्रीय सदस्य हुन् ।

उनको लोकप्रिय गीतमध्ये डीपी खनालको शव्द र धनु ग्याङ्मी मगरको संगीतमा रहेको झमझम झम्कना… बोलको गीत चर्चामा छ । गोर्खालीको एक छोरा र श्रीमति छन् ।