अफगानिस्तानमा हवाई दुर्घटनाः दुई अमेरिकी सैनिकको मृत्यु

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले गत साता अफगानिस्तानमा भएको अमेरिकी सैनिक बिमान दुर्घटनामा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको छ ।

रक्षा मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा अफगानिस्तानको गज्नी प्रान्तमा बम्बार्डियर इ–११ ए कलसाइन भएको सैनिक बिमान दुर्घटनाग्रस्त भएको उल्लेख छ । तालिबान लडाकू सक्रिय रहेको उक्त प्रान्तका तालिबान समूहहरुले आफूहरुले बिमान खसालेको दाबी गर्दै आएका थिए ।

तर अमेरिकी सेनाले उक्त सैन्य बिमान प्राविधिक त्रुटीका कारण दुर्घटनामा परेको हो वा तालिबानी आक्रमणको निशानामा परेको हो भन्ने केही खुलाएको छैन । अमेरिकी रक्षा मन्त्रालयले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु गरिएको जनाएको छ ।

अफगानिस्तानमा अझै पनि करिब १२ हजार अमेरिकी फौज तैनाथ छन् । अमेरिकी सेनाले हाल अफगान सैनिकलाई तालिम, परामर्श र हवाई सेवा उपलब्ध गराइरहेको छ । रासस–सिन्ह्वा