शुरु भयो नेपाल–भारत सीमा नाकामा कोरोना भाइरस लक्षित निगरानी

चीनबाट शुरु भएको कोरोना भाइरसको महामारीबाट बच्न भन्दै सरकारले सीमा क्षेत्रमा पनि स्वास्थ्य परीक्षण र उच्च निगरानी शुरु गरेको छ ।

यसअघि रसुवागढी लगायत चीनतर्फको सीमा–नाकामा स्वास्थ्य जाँचको व्यवस्था गरिएकोमा अब भारतसँगको सीमा–नाकामा पनि कोरोना भाइरसको परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिने भएको छ ।

संघीय सरकारको गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीचको समझदारीअनुसार सबै सीमा क्षेत्रमा कोरोना भाइरस लक्षित परीक्षण र निगरानी शुरु गरिने भएको छ ।

यसैबीच रुपेन्देहीको भैरहवा सीमा–नाकामा कोरोना लक्षित स्वास्थ्य जाँच र निगरानी शुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जनस्वास्थ्य कार्यालयले बेलहिया नाकासहित भारतसँग सीमा जोडिएका क्षेत्रमा निगरानी बढाएको हो । सीमा क्षेत्रमा कोरोना लक्षित परीक्षण तथा निगरानीका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा प्रशासनको निर्देशनपछि कोरोनाबारे जाँच तथा यसको सचेतना सहायता कक्ष स्थापना गरिएको रुपन्देहीका सहायक प्रजिअ भरत शर्माले जानकारी दिए ।

सहायता कक्षमा भारतबाट आउने पर्यटकलाई परामर्श दिने र शङ्का लागेमा नजीकको अस्पतालमा पठाउने गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।