राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रियसभा बैठकबाट बिहीबार मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभामा पेश गर्ने आजको कार्यसूची छ । त्यसअघि मिडिया काउन्सिल विधेयकमा छलफल हुने छ ।

समाचारजन्य सामाग्रीका कारण कसैको प्रतिष्ठामा आँच पुगे मिडिया काउन्सिलले आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रस्तावित व्यवस्था हटाएर नयाँ आउने पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था विधेयकमा थप गरिएको छ ।

राष्ट्रियसभाबाट गत आइतबार नै मिडिया काउन्सिल विधेयक–२०७६ पारित गर्ने तयारी थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले मिडिया काउन्सिल विधेयक पारित गर्ने विषयलाई कार्यसूचीबाट हटाएका थिए ।

पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्नेलगायतका व्यवस्थाको विरोध हुँदै आएको छ । बिहीबारै दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक पनि बस्दै छ ।