चीनसँगको सीमानाका बन्द गर्न माग गर्दै हङकङमा हजारौं चिकित्सकको हड्‍तालमा

हङकङ । हङकङमा हजारौं चिकित्सकहरु हड्‍तालमा उत्रिएका छन् । हङकङको अस्पताल प्राधिकरण ९एचए० ले बिहीबार सीमित चिकित्सा सेवामात्र उपलब्ध गराइने चेतावनी दिएका छन् ।

निरन्तर चार दिनदेखि हड्तालमा उत्रिएका हङकङका चिकित्सकहरुले चीनसँगको सीमा नाका पूर्णरुपमा बन्द गर्न माग गर्दै हड्‍तालमा उत्रिएका हुन् । अस्पताल प्राधिकरणका अधिकारीका अनुसार बुधबारको हड्तालमा सात हजारभन्दा बढी चिकित्सकहरु सहभागी थिए ।

प्राधिकरणले गम्भीर समस्या भए मात्र अस्पताल आउन बिरामीलाई आग्रह गरेको छ । आपतकालीन सेवाका लागि सीमित चिकित्सकहरु ड्युटीमा भएकोले गम्भीर समस्या भएमा मात्र अस्पताल आउन आग्रह गरिएको हो ।

कोरोना भाइरसको संक्रमण चाँडै फैलनसक्‍ने र त्यसको संक्रमण फैलनबाट रोक्‍न सक्ने क्षमता हङकङमा नभएकोले चीनसँगका सबै सीमानाकाहरु बन्द गर्न आन्दोलनरत चिकित्सकहरुले माग गरेका छन् ।

त्यसैगरी उनीहरुले कोरोना संक्रमण रोक्‍न थप उपायहरु अपनाउनुपर्ने, कोरोना संक्रमितको उपचारका लागि थप आइसेलेसन वार्डहरुको व्यवस्था गर्नुपर्ने सरकारसँग माग गरेका छन् ।

हङकङमा अहिलेसम्म कोरोनाका कारण एकजनाको मृत्यु भइसकेको छ । यसअघि हङकङकी नेतृ क्यारी लामले चीनसँगका केही सीमाहरु आंशिक रुपमा बन्द गर्ने घोषणा गरेकी थिइन् ।

त्यसैगरी बुधबार आन्दोलनकारी चिकित्सकहरुको आलोचना गर्दै चिकित्सको आन्दोलनका कारण स्वास्थ्य उपचार सेवा कमजोर बन्दै गएको आरोपसमेत लगाएकी हुन् ।

उनले चीनबाट आउने हङकङबासीसहित जुनसुकै व्यक्तिलाई पनि १४ दिनका लागि क्‍वारेन्टाइन गराउन निर्देशन दिएकी छन् ।

कोरोनाका कारण ५६२ जनाको मृत्यु भइसकेको छ भने २८ हजारभन्दा बढी संक्रमित भएका छन् । सीएनएन