पर्साबासीको मन जितेर बिदा भए एसपी राठौर, अब, काठमाडौंमा ‘सेकेन्ड म्यान’को जिम्मेवारी

वीरगन्ज । नौ महिना अगाडीदेखि पर्सा प्रहरीको कमाण्ड सम्हाल्दै आएका पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर पर्साबाट काठमाडौंको लागी बिदा भएका छन् । आक्रामक पुलिसिङको माध्यमबाट भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाउदै पर्साबासी जनताको मन जित्न सफल भएका राठौर आज (बिहिवार) पर्साबाट बिदा भएका छन् ।

प्रहरी प्रधान कार्यालले दुई दिनअगाडी गरेको काज सरुवाको सुचीमा परेका राठौरलाई आज (बिहीवार) जिल्ला प्रहरी कार्यालय पर्साले बिदाई गरेको हो । गत मंगलबारको सरुवामा एसपी राठौरको महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएको थियो । प्रहरी प्रधान कार्यालयले राठौरको ठाउँमा उनकै ब्याचमेट एसपी गङ्गा पन्तलाई खटाइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा वीरगन्जमा आज (बिहीवार) बिहान आयोजित बिदाई कार्यक्रममा बोल्दै एसपी राठौरले पर्साबासी सम्पुर्ण बासिन्दा, नागरिक समाज, राजनितिक दल, मिडियाकर्मी तथा सहकर्मी प्रहरी कर्मचारीलाई धन्यवाद दिएका थिए । उनले जिल्ला प्रहरी कार्यालय पर्साका सिनियर प्रहरी नायब उपरीक्षक (डीएसपी) बिरेन्द्र शाहीलाई चार्ज बुझाएर बिदा भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नेपाल प्रहरीको ११२ टोलीका प्रहरी अधिकृत हुन् प्रहरी उपरिक्षक (एसपी) राठौर । उनी अपराध अनुसन्धान र कमाण्ड कन्ट्रोलमा अब्बल अधिकृतको रुपमा परिचित छन् । यो परिचय उनको नामले होइन, कामका परिणामले समेत प्रस्ट पारिसकेको छ ।

पर्साको प्रहरी प्रमुखको नौ महिने कार्यकालमा नै उनले देखाएको कामको परिणामले यसको पुष्टि गर्छ । यसबाहेक उनले जिम्मेवारी सम्हालेका सबै युनिटमा प्रभावकारी काम गरेको विवरण प्रहरी मुख्यालयमा नै सुरक्षित छ ।

पर्साका सन्दर्भमा मात्र उनले झन्डै ८ महिनामा १० करोड बढी रकम राज्यको ढिकुटीमा भराउने काम गरेका छन् । यसबाहेकका अपराधमा संलग्नमाथिका कारबाही पनि छन्।

एसपी राठौर नेतृत्वको पर्सा प्रहरीले १ करोड ९५ लाख ५९ हजार २ सय ४४ रुपैयाको हुण्डीका कारोवारीलाई प्रकाउ गरी कारवाहीको दायरामा ल्याएको छ। बीरगंज नगर क्षेत्रको बिभिन्न स्थानहरुबाट श्रोत खुल्न नसकेका अबैध हुण्डीको रकम सहित ३६ जनालाई प्रकाउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको तथ्यांक जिल्ला प्रहरी कार्यालय पर्सामा छ ।

भन्सार छली अबैध तरिकाले चोरी पैठारी गरी सीमा वारीपारी लुकाई छिपाई लगीरहेको अवस्थामा ७ करोड, २४ लाख ७२ हजार, ५ सय ९५ रुपैया बराबरको तस्करीको समान नियन्त्रणमा लिई भन्सार कार्यालयमा पठाइएको छ ।

यसैक्रममा भन्सार छली गरी ल्याईरहेका २६ जनालाई तस्करहरुलाई नियन्त्रणमा लिई कारवाही समेत गरिएको छ । पर्सा जिल्लामा बिभिन्न मुद्धामा फरार रहेका ३०६ जना फरार अपराधीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

एसपी राठौरको कमाण्डको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा लुकीछिपी बस्दै आएका अपराधीहरुलाई पक्राउ गरी कारवाही गराएको पर्सा जिल्ला अदालतको तथ्यांगले नै पुष्टि गर्छ । प्रहरीले फरार भएका अपराधीहरु संगबाट ६८ लाख, २२ हजार २ सय ६६ रुपैया अदालतमा बिगो असुल गराउन सफल भएका थिए ।

पर्सा प्रहरी भित्र पनि ब्यापक सुधार ल्याएका एसपी राठौरले हरेक महिना प्रहरी कर्मचारीसँग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको र जिल्लामा शान्ति सुरक्षाको अनुभूती दिलाउनका लागि एसपी राठौरले प्रहरी अधिकृतहरूलाई निर्देशन दिने गरेका थिए ।

राठौर यस अगाडि महानगरीय अपराध महाशाखामा कार्यरत थिए । इन्स्पेक्टर हुँदा तत्कालीन वडा प्रहरी कार्यालय कमलपोखरी, डिएसपीमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र महानगरीय प्रहरी बृत्त लैनचौर (सोह्रखुट्टे)को कमाण्ड सम्हालेका थिए । उनी खरो स्वभावका व्यावसायिक अधिकृत हुन् । नेपाल प्रहरीको ११२ टोलीका उनी अपराध अनुसन्धान, इन्टेलिजेन्स र अपरेसनमा राम्रो दख्खल राख्छन ।

आफ्नो ब्याचमा स्मार्ट र व्यावसायिक अधिकृतको छवि बनाएका उनी द्वन्द्वकालमा तत्कालीन प्रती आतंकवाद निर्देशनालय (हालको विशेष ब्युरो) मा समेत काम गरेका थिए ।

काठमाडौं उपत्यकाको ‘आपराधिक ट्रेण्ड’ लाई राम्रोसँग बुझेका एसपी राठौरलाई प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले काठमाडौं प्रहरीको सेकेन्ड म्यानको जिम्मेवारीमा सरुवा गरेका हुन् ।

उच्च स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपी दीपक थापालाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा पठाउने सरकारको तयारी छ । सोही योजना अनुसार एसपी राठौरलाई काठमाडौंमा सरुवा गरेको बुझिएको छ ।