साझा पार्टीका नेता–कार्यकर्ता पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पहुँचवाला र ठूला नेतालाई उन्मुक्ति दिएको भन्दै बिहीबार आयोगको कार्यालय सामुन्ने विरोध प्रदर्शन गरेको छ ।

‘एक देश, दुई कानुन’ को विरोधमा पूर्वघोषित कार्यक्रमअनुसार साझा पार्टीले विरोध प्रदर्शन गरेको हो । सिठी जुलुससहित भएको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले हस्तक्षेप गरेको थियो ।

टंगालस्थित आयोगको मूल गेटअगाडि पुगेका प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गर्दै रोकेको हो । यस क्रममा साझा पार्टीकी बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीले जनाएको छ ।

आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि सो प्रकरणमा मुछिएका सत्तारुढ दलका नेताहरुलाई उन्मुक्ति दिइएको र उस्तै आरोप लागेका अन्यलाई मात्र विपक्षी बनाएर मुद्दा दायर गरिएको साझा पार्टीको आरोप छ ।