हर्क खडायतको अध्यक्षतामा सुदूर साहित्य प्रतिष्ठान गठन

बाजुरा (पास)– बाजुरामा पहिलो पटक सुदूर साहित्य प्रतिष्ठान गठन गरिएको छ ।

जिल्लाको साहित्य र संस्कृतिलाई उजागर गर्नका लागि प्रतिष्ठान गठन गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । संस्कृतिको जगेर्ना र लोप हुँदै गएका देउडा, चैतलोलगायतका संस्कृतिको जगेर्ना गर्नका लागि सुदूर साहित्य मञ्च गठन गरिएको हो ।

प्रतिष्ठान जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको छ । प्रतिष्ठानको अध्यक्षमा हर्क खडायत सर्वसम्मत चयन भएका छन् ।

यसैगरी उपाध्यक्षमा प्रतिमा थापा, सचिव कृष्ण ओली, कोषाध्यक्ष रमित विक, सहसचिव पदम कठायत सदस्यमा अशोक जोशी, बन्धना रोकाया गरी सात सदस्यीय समिति गठन गरी जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता गरिएको नवनिर्वाचित अध्यक्ष हर्क खडायतले जानकारी दिए ।

जिल्लामा पत्रकार सम्मेलन मार्फत प्रतिष्ठान गठनको उद्देश्य र आवश्यकता बारे जानकारी गराईएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरामा माघ २३ गते ४७० नम्बरमा दर्ता भएको प्रतिष्ठानले कला साहित्यसँग झुकाव राख्ने कलाकर्मी, साहित्य कर्मी, लेखकहरुलाई एकै ठाउँमा ल्याएर प्रतिभा प्रस्फुटनका कार्यहरु गर्ने लक्ष्य लिएको छ ।

बाजुरासँग भएको मौलिक पहिचान र भर्जिन साहित्यको प्रकासन र प्रशारण तथा विस्तारका काम गरी साहित्य गतिविधि बढाउने गरी काम गर्ने बताईएको छ ।

बाजुराली भाषाको शब्दकोष निर्माण, स्थानीय कला सँस्कृतिको दस्तावेजीकरण, गीत, गजल, कविता, आख्यान विधामा कलम चलाउने श्रष्टा, सर्जकका कृति प्रकाशन तथा संयोजकनको भूमिका पनि प्रतिष्ठानले निर्वाह गर्ने सचिव कृष्ण ओली अविरलले बताएका छन् ।

प्रतिष्ठानमा आवद्ध खडायतले देशले हारेको युद्ध नामक उपन्यास लेखेका छन् । भने सचिव कृष्ण ओलीले मेरो बाध्यता र बदलिने मनहरु नामक २ वटा गजल संग्रह प्रकाशित गरि सकेका छन् ।

प्रतिष्ठानले फेब्रुअरी १४ तारिखमा मनाईने प्रणय दिवसको दिन जिल्ला स्तरीय गजल वाचन कार्यक्रम आयोजना गर्ने पत्रकारलाई जानकारी गराईएको छ ।

यस्तै बैशाख १ गते साहित्य क्षेत्रको प्रवद्र्धनका लागि मासिक पत्रिका प्रकाशन गर्ने, मासिक साहित्य कार्यक्रम आयोजना गर्ने र जिल्ला स्तरीय आइडल, आइकन छनोट कार्यक्रम राख्ने बताएको छ ।

बडिमालिका नगरपालिकाको सभा हलमा आयोजित पत्रकार सम्मेलनको सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए ।