राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके, इलाम– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवी–भेडेटार सडक निर्माणको स्थलगत अनुगमन तथा निरीक्षण गरेपछि गति लिएको छ । उनी सहित मन्त्रालयको उच्च नेतृत्व सम्लग्न टोलीले हालै सो सडकको स्थलगत निरीक्षण गर्दै निर्धारित समयमै काम पूरा गर्न तथा गराउन सम्बद्ध पक्षलाई निर्देशन दिएका थिए । यसपछि निर्माणले गति लिएको हो । निर्माण उपकरण तथा कामदारको सङ्ख्यासमेत बढेको छ ।
सो खण्डको अधिकांश स्थानमा सडक विस्तार (ब्याक कटिङ)को कार्य अघि बढेको छ । सो सडकको एक वर्षसम्म निर्माण कार्य पाँच प्रतिशतसमेत पूरा भएको थिएन् । निर्माण कार्यले गति लिन नसकेपछि मन्त्री नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलगायतको टोलीले हालै स्थलगत अनुगमन गरेको थियो । १०१ किलोमिटर लामो उक्त सडकमा एउटा पनि पुल निर्माण गर्नु नपर्ने तथा धेरै चट्टानसमेत नभएका कारण निर्माण कार्य अघि बढाउन ठूलो चुनौती छैन । सडक निर्माणमा स्थानीयस्तरमा अवरोध र समस्या समेत नहरेकाले द्रूत गतिमा निर्माण अघि बढाइ निर्धारित समयमै निर्माण कार्य पूरा हुने जनाइएको छ ।
स्थानीयवासीका अनुसार पछिल्लो पटक सो सडक खण्ड निर्माणले द्रुत गति लिन थालेको छ । निर्माणले पछिल्लो पटक गति लिएको र त्यसको निरन्तरता आवश्यक रहेको पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिए ।
भारतीय ऋण सहयोगअन्तर्गत यो सडक निर्माण गर्ने समझदारी भएको थियो । गत वर्षको पुस २० गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रवीमा यो सडकको शिलान्यास भएको थियो । १०१ किलोमिटर लामो यो सडकले पाँचथर, इलाम र धनकुटा जिल्लालाई जोड्दछ । यस सडकबाट यी जिल्लाका अतिरिक्त मोरङ, ताप्लेजुङ र तेह्रथमुका नागरिकले समेत प्रत्यक्ष लाभ लिन सक्दछन् ।
तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा रहेको छ । सात मिटर चौडा बाटोले यहाँका धेरै व्यापारिक केन्द्र र ठूलो परिमाणमा कृषिउपज उत्पादन हुने क्षेत्रलाई जोड्नेछ । २०४६ सालपछि यो सडकको ट्र्याक खोलिए पनि स्तरोन्नति र कालोपत्रे हुन सकेको थिएन ।
भारतको आयात–निर्यात (एक्जिम) बैंकको रु तीन अर्ब ६५ करोडको ऋण सहयोगमा यो सडक निर्माण हुन लागेको हो । यस आयोजनाको ८७ प्रतिशत लगानी भारतीय सरकारको ऋण सहयोग रहेको छ भने बाँकी १३ प्रतिशत नेपाल सरकारले लगानी गरेको छ । सडक निर्माणको जिम्मा भारतीय कम्पनी एप्कोले पाएको छ ।