पोखरा पर्यटन प्रवद्र्धन गर्न पर्यटन व्यवसायी भारतमा

चिप्लेढुङ्गा– पोखराको पर्यटन प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायी भारतको यात्रामा निस्केका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा २१ जनाको टोली भारततर्फ लागेको परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

भारतको पश्चिम बङ्गालस्थित सिलिगुढी र कोलकत्ता पुगेर पर्यटन व्यवसायीको टोलीले पोखराको पर्यटनको प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ । फागुन १० मा भारतको सीमावर्ती शहर सिलिगुढीमा हुने बङ्गाल ट्राभल मार्ट (बिटिएम) नेपालको स्टलमा पोखराका होटल, ट्राभल, टे«ेकिङ, माउन्टेनियरिङ सम्बद्ध १२ व्यवसायीले डेस्क राख्नेछन् । फागुन ११ मा बिटिएममै ‘पोखरा नाइट’ हुनेछ । उक्त नाइटमा पोखरासम्बन्धी वृत्तचित्र प्रदर्शनी गरिनेछ । पोखराको लोक संस्कृति झल्किने प्रस्तुतिसमेत राखिने ‘भारत सेल्स मिशन २०२०’ को संयोजक राजेश पहारीले जानकारी दिए ।

फागुन १२ मा उक्त टोली पश्चिम बङ्गालको राजधानी कोलकत्ता पुग्नेछ । फागुन १३ मा कोलकत्ता र पोखराका पर्यटन व्यवसायीबीच बी टू बी सेल्स मिशन कार्यक्रममा पोखराका पर्यटन व्यवसायीले पोखरामा भारतीय पर्यटक आकर्षित गर्न व्यवसायीले योजना प्रस्तुत गर्नेछन् ।

कोलकत्ताबाट बागडोरा, भद्रपुर, काठमाडौँ हुँदै उक्त टोली फागुन १५ मा पोखरा फर्किने कार्यक्रम रहेको छ । बङ्गाल ट्राभल मार्टमा पोखरा पर्यटन परिषद्को यो पाँचौँ सहभागिता हो । सेल्स मिशनको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको छ ।

यतिबेला कोरोना भाइरसले चिनियाँ पर्यटकको आगमनमा कमी भएकाले पनि भारतीय शहरका प्रवद्र्धन आवश्यक भएको परिषद्का महासचिव दिलप्रसाद गौतमले बताए । “चिनियाँ पर्यटकको कमीलाई पूर्ति गर्न पनि भारतीय शहरमा प्रवद्र्धन रोजेका हौँ”, उनले भने, “पर्यटनमा परेको सङ्कटलाई यसले थोरै भए पनि राहत पुग्नेछ ।” टोलीलाई शुक्रबार गण्डकी प्रदेश सांसद राजीव पहारी, पर्यटनविज्ञ समूह सदस्य वासु त्रिपाठी, नाट्टा अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले बिदाइ गरेका थिए ।