यो युग शान्ति, विकास, समृद्धि, सुशासन र राजनीनिक स्थायित्वको युग होः मुख्यमन्त्री राई

सरकारको खुट्टा तान्ने प्रचलन अन्त्य भएको छ

खोटाङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताएका छन । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’को उद्घाटन कार्यक्रममा मङ्गलबार उनले यो युग हाम्रो युग भएको बताए ।
हेलिकोप्टरमार्फत खोटाङ आएका मुख्यमन्त्री राईले देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको बताए । यो युग शान्ति, विकास, समृद्धि, सुशासन र राजनीनिक स्थायित्वको युग हो, उनले भने । देशमा छ महिनामा सरकार ढल्ने युग समाप्त भइसकेकाले दिगो विकासमा सबै एकजुट हुनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

विगतमा एउटा सरकार ढालेर फेरि नौ महिनापछि अर्को बनाउनुपर्ने अवस्था थियो, उनले भने, सरकार ढाल्ने र बनाउने परिपाटीलाई हामीले समाप्त गरिसक्यौँ । अब देशको दिगो विकास सरकारको एक मात्र कार्यसूची हुनेछ ।

प्रदेश नं १ पर्यटकीय क्षेत्रको अथाह सम्भावना बोकेको प्रदेश भएकाले आआफ्नो क्षेत्रबाट धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गतिविधि गर्न स्थानीय तहका जनप्रतिनिधिलाई उनले आग्रह गरे । आफ्नो क्षेत्रमा भएको कृषि तथा पर्यटनको प्रवद्र्धनमा लाग्नुहोस्, उनले भने, कृषि तथा पर्यटन नै प्रदेश नं १ को समग्र विकासको प्रमुख आधार हो ।
फागुन १३, १४ र १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा सांसद विशाल भट्टराई, दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, छिमेकी स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले शुभकामना दिएका थिए ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाको वडा नं १ राखाबाङ्देलमा अवस्थित पर्यटकीयस्थल बहानेपोखरीको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्न उक्त गाउँपालिकाले महोत्सवको आयोजना गरेको हो ।

प्रायोजक तथा छिमेकी स्थानीय तहसँगको सहकार्यमा शुरु गरिएको महोत्सवका लागि सो गाउँपालिकाले रु १२ लाख बजेट विनियोजन गरेको थियो । महोत्सवमा जैविक कृषि उपज प्रदर्शनी, खानाका परिकार, विभिन्न जातजातिको सांस्कृतिक तथा परम्परागत झाँकी, साङ्गीतिक कार्यक्रम, खेलकूदलगायत विविध कार्यक्रम आयोजना गरिएको आयोजक समितिका संयोजक गृहबहादुर राईले बताए ।

चारैतिर रमणीयडाँडाको बीचमा मुहान नदेखिने बहानेपोखरीमा बाह्रै महिना टम्म पानी रहने गरेको स्थानीयवासीले बताएका छन् । अग्लोडाँडामा शुद्ध पानी टम्म भरिएको बहानेपोखरी २०० मिटर क्षेत्रफल जमीनमा फैलिएको छ । आफँमा ऐतिहासिक महत्व बोकेको बहानेपोखरीमा महोत्सव गर्दा सबैको ध्यान केन्द्रित गर्न र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रथमपटक ‘बहानेपोखरी महोत्सव’ आयोजना गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए ।

बहानेपोखरीको पूर्वतर्फ शङ्खढुङ्गा, नागढुङ्गा, स्तुपा र केहीमाथि विभिन्न आकृतिका संरचना अवलोकन गर्न सकिन्छ, उनले भने, पोखरी आसपासमा पाइने लोपोन्मुख रेडपाण्डा, चौँरी, भेडा र विभिन्न प्रजातिका जीवजन्तु अवलोकन गराउँदै आगामी दिनमा थप पर्यटक तान्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

बहानेपोखरीबाट खोटाङको अधिकांश स्थान, तराईका फाँट, विश्वकै सर्वोच्च शिखर सगरमाथा तथा हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ । भदौरे जनैपूर्णिमा र मङ्सिरे पूर्णिमाको दिन धामीझाँक्रीसहित विभिन्न जिल्लाबाट आउने दर्शनार्थीको उपस्थितिमा यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

समुद्री सतहदेखि करिब दुई हजार ७०० मिटर उचाइमा अवस्थित बहानेपोखरीमा नयाँ वर्षमा ठूलो सङ्ख्यामा युवापुस्ता वनभोज ९पिकनिक० जाने गरेका छन् । पोखरी आसपास शेर्पा समुदायको घनाबस्ती छ ।

आगामी दिनमा उक्त शेर्पा बस्तीलाई घरबास होमस्टेका रूपमा विकास गर्ने योजनासमेत रहेको गाउँपालिका प्रमुख निरौलाले बताए । जैविक कृषि उपज पर्याप्त उत्पादन हुने उक्त क्षेत्र घरबासका लागि उपयुक्त ठाउँ हो ।