अब, पेट्रोल र डिजेलको मूल्य बढ्ने, विकास कर ५ बाट बढाएर १० रुपैयाँ पुर्‍याउने निर्णय

काठमाडौं– सरकारले पेट्रोल र डिजेलमा लगाउँदै आएको विकास करलाई ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ पुर्‍याएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत सरकारको प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले पेट्रोलियम पदार्थको आयातमा लिइने गरिएको विकास कर ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ पुर्‍याइएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन सरकारले जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पेट्रोलियम पदार्थको आयातमा प्रतिलिटर ५ रुपैयाँ विकास कर लिने निर्णय गरेको थियो ।

सरकारले विकास करको दर प्रतिलिटर ५ रुपैयाँबाट १० रुपैयाँ पुर्‍याएपछि अब पेट्रोल र डिजेलको मूल्य समेत बढ्ने भएको छ ।