को हुन् प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको यही बुधबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदैछ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीलाई यसपटक कसले मिर्गौला दिँदैछन् त ? सर्वश्व चासोको विषय बनेको छ ।
यसपटक प्रधानमन्त्री ओलीले झापाकी समीक्षा संग्रौलाले मिर्गौला दिँदैछन् । आइतबार मात्र प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मिर्गौला दाताका रूपमा समीक्षालाई चिनाएका थिए । तर, उनको नाम खुलाइएको थिएन । ३२ वर्षीया समीक्षा झापा, चारआलीकी हुन् । स्रोतका अनुसार समीक्षा प्रधानमन्त्री ओलीलाई पहिलोपटक मिर्गाैला दान दिने अञ्जान घिमिरेकी भान्जी हुन् । उनी प्रधानमन्त्री ओलीको पनि ‘भान्जी’ नाता पर्छिन् ।
केही समययता उनी प्रधानमन्त्री निवास बालुवाटारमा बाक्लै आउजाउ गरिरहेकी थिइन् । आइतबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौला दान दिने महिलाबारे जानकारी गराएका थिए । शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मिर्गौला दिने महिलाको फाइल रेकर्डमा नाम दर्ता गरिएको छ । जसमा ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा) लेखिएको छ । उक्त रेकर्ड फाइलमा समीक्षाका साथै उनका पतिको नाम र फोन नम्बर समेत लेखिएको छ । समीक्षाका दुई सन्तान रहेको स्रातको भनाइ छ । केही दिनअघि मात्र समीक्षााके पनि स्वास्थ्य जाँच गरिएको बताइएको छ ।