७६ देशमा कोरोना संक्रमण, अमेरिकामा मृतकको स‌ंख्या ६ पुग्यो

वासिंगटन । कोरोना भाइरस(कोभिड–१९) बाट अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार सोमबार वासिंगटनमा थप ४ जनाको मृत्यु भएको हो ।

चीनको सांघाईमा कुकुरलाई मास्क लगाइदिएर डुलाइँदै तस्बिर : रोयटर्स

सियाटल र किंग काउन्टी जनस्वास्थ्य विभागका प्रमुख स्वास्थ्य अधिकृत डाक्टर जेफ डकिनले सोमबार पत्रकार सम्मेलन गर्दै संक्रमणको दर बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरेका छन् । वासिंगटन राज्यमा मात्रै ६ जनाको मृत्यु भएको हो भने १८ जनामा संक्रमण भेटिएको छ । शनिबार पहिलो पटक कोभिड–१९ बाट अमेरिकामा मृत्यु भएपछि वासिंगटनका गभर्नर जे इन्स्लीले राज्यमा संकटकालको घोषणा गरेका थिए ।

सोमबार बिहानसम्म अमेरिकाका विभिन्न १० राज्यमा कोभिड–१९ को संक्रमण देखिएको पुष्टि भएको छ । अमेरिकाका वासिंगटन, क्यालिफोर्निया, न्युयोर्क, ओरेगन, फ्लोरिडा, रोड आइल्यान्डलगायतका राज्यमा गरी ९९ जनामा संक्रमण देखिएको छ ।अमेरिकामा कोभिड–१९ संक्रमण बढ्दै गएपछि अतिप्रभाविकत मुलुकको यात्रा तथा विदेशीहरुको आगमनमा प्रतिबन्ध लगाइएको छ ।

चीनमा घट्दै, अन्त बढ्दै

विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घण्टामा चीनबाहिर ९ गुणाले संक्रमण बढेको जानकारी दिएको छ । साउदी अरेयिबा, जोर्डन र् ट्युनिसियाले सोमबार पहिलो संक्रमणको पुष्टि गरेका छन् ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार भने पछिल्लो समय चीनमा संक्रमित र मृत्यु हुनेको संख्या घट्दै गएको छ । सोमबार थप १२५ जनामा मात्रै कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य आयोगले जानकारी दिएको छ । आइतबार २०२ जनामा संक्रमण देखिएको थियो । त्यस्तै सोमबार थप ३२ जनाको मृत्यु भएको स्वास्थ्य आयोगले जनाएको छ ।

मंगलबार बिहानसम्म चीनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ४४ पुगेको छ । त्यस्तै ८० हजार एक सय ५१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४७ हजार निको भएको र ६ हजार ८ सय ६ जना गम्भीर रहेको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

इटाली र इरानमा पनि संक्रमण बढ्दै

चीनबाहिर कोभिड–१९ का कारण सबैभन्दा बढी इरानमा ६६ पुगेको छ । मंगलबार बिहानसम्म इरानमा संक्रमितको संख्या एक हजार ५ सय १ पुगेको छ ।

त्यस्तै युरोपेली मुलुकमा इटालीमा ५२ जनाको मृत्यु भएको छ भने दुई हजार ३६ जनामा संक्रमण देखिएको छ ।चीनबाहिर सबैभन्दा बढी संक्रमण भने दक्षिण कोरियामा देखिएको छ । मंगलबार बिहानसम्म दक्षिण कोरियामा ४ हजार ८ सय १२ जनामा संक्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ ।

त्यस्तै जापानमा १३ जना(डायमन्ड प्रिन्सेस पानीजहाजमा ७) को मृत्यु भएको छ । पानीजहाजमा ७०५ समेत गरी जापानमा ९ सय ७९ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै फ्रान्समा ३, हङकङमा २, थाइल्यान्ड, ताइवान, अस्ट्रेलिया, सान मारिनो र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ ।

विश्वका विभिन्न ७६ देशमा गरी मंगलबार बिहानसम्म ९० हजार भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको छ भने ३ हजार एक सय २५ जनाको मृत्यु भएको छ । ४८ हजारभन्दा बढी निको भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।