कोरोना भाइरसका कारण इरानी सर्वोच्च नेताका सल्लाहकारको मृत्यु

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका सल्लाहकार आयोगका एक सदस्यको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दी खामेनेइको मृत्यु भएको हो । यसअघि, इरानका प्रमुख धर्मगुरुमध्येका एक हादी खोस्रोसाहीको बिहीबार कोरोनाभाइरसकै संक्रमणका कारण मृत्यु भएको थियो ।

उपराष्ट्रपति मोसुमेह इब्तेकार र कोरोनाभाइरसविरुद्ध गठन गरिएको सरकारी टास्कफोर्सको नेतृत्व गरिरहेका उपस्वास्थ्यमन्त्री इराज हारिर्ची पनि कोरोनाभाइरसबाट संक्रमित छन् ।

गत हप्तादेखि इरानमा कोरोनाभाइरसको संक्रमण फैलिन थालेको हो । सोमबारसम्म यसबाट ६६ जनाले ज्यान गुमाइसकेका छन् भने देशमा यसबाट १५ सय भन्दा बढी संक्रमित बनेका छन् ।