नेपाली सेनाभित्रको अनियमितताः छलफलका लागि रक्षामन्त्री र सेनापति नै अनुपस्थित, बैठक स्थगित

काठमाडौं । नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न बोलाइएको संसदको राज्य व्यवस्था समितिको बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा उपस्थित नभएपछि बैठक स्थगित भएको छ ।

रक्षामन्त्री र प्रधानसेनापति उपस्थित नभएपनि रक्षा मन्त्रालयको तर्फबाट सचिव रेश्मीराज पाण्डे र सेनाका रथी सरद गिरीको नेतृत्वमा बैठकमा सहभागी भएका थिए ।

तर विभागीय मन्त्री र प्रधानसेनापति बोलाउँदा पनि नआएको भन्दै बैठक स्थगित गरिएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् । ‘उहाँहरु नआउनु भएपछि बैठक स्थगित गरिएको छ’ सभापति श्रेष्ठले भनिन् ।

बोलाइएका र सम्बन्धित व्यक्ति उपस्थित नभएपछि बैठक राख्नु र छलफल गर्नुको औचित्य नभएको आवाज सांसदहरुले उठाएपछि बैठक स्थगित गरिएको हो । नेपाली सेनाको मुख्यालय निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको उजुरी परेपछि समितिले चासो देखाएको थियो ।

राज्य व्यवस्था समितिले सेनाको भ्रष्टाचारबारे छानबिन गरी प्रतिवेदन तयार पार्न तीन सदस्यीय उजुरी सुनुवाई कार्यदल गरेको थियो । कार्यदलले आठ महिनाभन्दा बढी समय लगाएर गुनासो तथा उजुरी छानबिन गरेको हो ।

सत्तारुढ नेकपाका सांसदद्वय रेखा शर्मा, नवराज सिलवाल तथा प्रमुख विपक्षी दलका सांसद दिलेन्द्रप्रसाद बडू सदस्य रहेको कार्यदलले ५० वटा उजुरी छानबिन गरी बुधबार समितिलाई प्रतिवेदन बुझाएको छ ।