संसदीय समितिद्वारा हुलाकी सडक आयोजनालाई यस्तो निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले हुलाकी सडकअन्तर्गत कैलाली खण्ड यथाशीघ्र निर्माण गर्न विभिन्न सरोकारवाला पक्षलाई निर्देशन दिनुभएको छ ।

सभापति खड्का सहितको टोलीले आज हुलाकी सडकको कैलाली खण्डको कैलारी गाउँपालिकाको वसन्ता क्षेत्र, भजनी नगरपालिकाको लालबोझी तटबन्ध, भजनी लालबोझीको ठेकीपुर पुल र सत्ती पुलको स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो ।

सो अवसरमा संसदीय समितिका सभापति खड्काले वसन्ता क्षेत्रको दुई किलोमिटरमा रहेका रूख काट्न पहल थाल्न वन कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले हुलाकी राजमार्गमा पर्ने कान्द्रा नदीमा निर्माणाधीन ठेकीपुर पुल चाँडै बनाउन निर्माण कम्पनीका ठेकेदारलाई निर्देशन दिनुभयो । संसदीय टोलीलाई वसन्ताको वन सबडिभिजन कार्यालयका फरेस्टर प्रेम विष्टले वसन्ताको दुई किलोमिटरमा पर्ने रूखको सङ्ख्याबारे प्रतिवेदन पठाउन केही दिनअघि वन मन्त्रालयले पत्र पठाएको जानकारी दिनुभयो ।

उहाँले हुलाकी सडक आयोजनाको सहयोगमा चाँडै रूखको लागत प्रतिवेदन पठाइने जानकारी दिनुभयो । उहाँका अनुसार सडकको मुख्य बिन्दुबाट दुवै किनारामा छ मिटरको परिधिमा काटिने रूखको सङ्ख्या विवरण मन्त्रालयले मागेको छ । संसदीय समितिका सभापति खड्का नेतृत्वको टोलीमा रहेका हुलाकी आयोजना धनगढीका इन्जिनीयर पदम मडैले एक–दुई दिनमै सडकको बिन्दु निक्र्यौल गरिने जानकारी दिनुभयो ।

त्यस्तै २०६८ सालमा टेन्डर भएर पनि अझैसम्म निर्माण हुन नसेकेको भजनी नगरपालिका–५ लालबोझी ठेकीपुरको पुल पनि चाँडै निर्माण गर्न सभापति खड्काको टोलीले निर्माण कार्यमा संलग्न पक्षलाई निर्देशन दिनुभयो । सो पुल निर्माणमा खटिएका इन्जिनीयर विकास कर्णले चालू आवको असार मसान्तमा सो पुलमा गाडी गुडाउने गरेर काम भइरहेको सभापति खड्कालाई जानकारी दिनुभयो ।

टोलीमा समितिका सदस्य आशाकुमारी विक, कैलाली क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य गौरीशङ्कर चौधरी, पूर्वसभासद मदनकुमारी शाह, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल, कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी, भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरी र उपप्रमुख छाया देवकोटा, समितिका सचिव ओम कार्की, कर्मचारी र विज्ञको सहभागिता थियो ।

कैलाली खण्डको हुलाकी सडक निर्माण कार्य धेरै सकिएको भए पनि विभिन्न कारणले धनगढी क्षेत्र, वसन्ता क्षेत्र र भजनी लालबोझीका सडक तथा पुल निर्माण कार्य पूरा हुन नसकेको अनुगमनका क्रममा पाइएको सभापति खड्काले प्रतिक्रिया दिनुभयो । सो सडक बनेमा पूर्वपश्चिम राजमार्गको तुलनामा टीकापुर, भजनीका साथै नेपालगञ्ज पुग्नसमेत छोटो दूरी रहनेछ । रासस