ऊर्जामन्त्री वर्षमान पुन र भारतीय राजदूत क्वात्राबीच भेट

काठमाडौं । छिमेकी भारतले केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम ऊर्जा क्षेत्रमा भएको बताएको छ ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले ऊजा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई शुक्रबार भेटेर वर्तमान सरकार गठन भएपछि ऊर्जा क्षेत्रमा राम्रो काम भएको भारतीय निष्कर्ष सुनाएका हुन् । त्यसको वातावरण निर्माणमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेकामा राजदूत क्वात्राले मन्त्री पुनको प्रशंसा गरे ।

अरुण तेस्रोको ३० प्रतिशत काम सम्पन्न भइसकेको चर्चा गर्दै उनले निर्धारित समयमै आयोजनाको काम सम्पन्न हुने विश्वास व्यक्त गरे । राजदूत क्वात्राले पहुँच मार्गको स्तरोन्नति, विस्फोटक पदार्थ आयात र सुरक्षामा ख्याल गरिदिन आग्रह गरे ।

यस्तै बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि भएको सहकार्यको सहमतिले उक्त काम सफलतापूर्वक सम्पन्न हुने आशा जागेको राजदूत क्वात्राको भनाइ थियो । उक्त प्रसारण लाइन निर्माणका लागि नेपाल–भारत संयुक्त कम्पनी नै निर्माण भइसकेको छ ।

मन्त्री पुन मन्त्रालयको नेतृत्वमा आएपछि नेपाल–भारतबीच इनर्जी बैंकिङको सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । यस्तै भारतले छिमेकी मुलुकसँग विद्युत आयात निर्यातका लागि ल्याएको निर्देशिका परिमार्जन भयो । जसले दुई देशबीच इनर्जी बैंकिङका साथै अन्तरदेशीय विद्युत व्यापारका लागि बाटो खुलेको थियो ।

मन्त्री पुनले भारतीय लगानीमा निर्माण भइरहेका अरुण तेस्रो जलविद्युत् आयोजना र बुटवल–गोरखपुर ४ सय केभी प्रसारण लाइन नेपालको प्राथमिकतामा रहेको उल्लेख गरेका थिए । भारतीय सरकारले पश्चिम राप्ती, बाणगंगा र खाँडो नदी नियन्त्रणमा सहयोग गरेकामा पुनले धन्यवाद दिए ।