कोरोना भाइरसको केन्द्रबिन्दु ऊहानमा पुगे राष्ट्रपति सि जिनपिंग

एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिनपिङले कोरोना भाइरसको केन्द्रबिन्दु मानिएको ऊहान शहर पुगेका छन् । दुई महिना अघि कोरोना भाइरसको संक्रमण देखिएपछि सि पहिलो पटक ऊहान पुगेका हुन् ।

उनले ऊहानमा कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मी, पार्टीका अधिकारी, सैनिक कमाण्डर, सामाजिक कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम छ ।

हप्तौं अघिदेखि ‘लकडाउन’ गरिएको उक्त क्षेत्रमा हज्जारौ संक्रमित छन् भने सयौंको मृत्यु भइसकेको छ । कोरोना भाइरसको ठूलो संकट व्यवहोरेको चीनले पछिल्ला दिनमा भाइरस नियन्त्रणमा ठूलो सफलता पाएको छ । सिको उक्त भ्रमणले त्यही सफलता दर्साउँछ ।

मंगलबार सम्ममा चीनभरी ८० हजार ७ सय ५४ संक्रमित देखिएका छन् । जसमध्ये ६७ हजार ७ सय ६० जना हुबेईमा मात्रै छन् । हुबेई प्रान्तको राजधानी ऊहान हो । चीनमा ३ हजार १ सय ३६ जनाको मृत्यु भइसकेको छ जसमध्ये १ सय १२ जना हुबेईका छन् ।

सोमबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले उक्त प्रान्तमा १७ नयाँ संक्रमित देखिएको जानकारी दिएको छ ।