भोलि गायक तथा संगीतकार डेनी निरौलाको एकल साँझ

काठमाडौं । चर्चित गायक तथा संगीतकार डेनी निरौलाको भोलि एकल साँझ हुने भएको छ ।

साँस्कृतिक संस्थानको आयोजनामा हुने नियमित एकल गायन श्रृङ्खला सुर साधनाको १८औं श्रंखलाअन्तर्गतको कार्यक्रममा भोलि फागुन २९ गते बिहीबार निरौलालाको एकल साँझ हुने भएको हो ।

आफ्ना ५ वटा र अन्य चर्चित ४ वटा गीतहरु भोलि दिउँसो ३ बजेदेखि सांस्कृतिक संस्थानको सभा हलमा प्रस्तुत गर्ने इलामेली गायक एवं संगीतकार निरौलाले बताए । प्रस्तुत हुने गीतहरुमा अल्झेछ क्यारे…, भन्थिन मेरी उनी…, धेरैचोटी आँखा जुध्यो…, म ज्यूँदो लाश…, जाली हुँदो रैछ माया…, सवै पीडा, धेरै धेरै लामो कथा…, फूल दिन्छु भन्थ्यौ… र कति चोट रहेको निरौलाले बताए ।

निरौलाले झण्डै तीन सय विभिन्न खालका गीतमा संगीत भरिसकेका छन् । उनले आफैले समेत डेढ दर्जन जति गीत गाएका छन् । अहिलेका चर्चित गायकहरु दीप श्रेष्ठ, राजेशपायल राई, रामकृष्ण ढकाल, प्रमोद खरेल, उदय–मनिला सोताङ्ग, राज सिग्देल, रोशन गुरुङ्ग, यम बराल, मेलिना राईदेखि नयाँपुस्ताका गायक–गायिकाहरुको स्वरमा संगीत भरिसकेका डेनीले ‘डेब्यु’ गराएका धेरै गायक–गायिका अहिले बजारमा चलेका छन् ।