नौ महिनामा २२ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । यसले गैँडा संरक्षणमा चुनौती थपेको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार साउन यता २२ वटा गैँडा मरेका छन् ।

पछिल्लो पटक गत मङ्गलबार पश्चिमी सेक्टरको टेम्पल टाईगर क्षेत्रमा एउटा गैँडाको हाडखोर मात्र भेटिएको छ ।

यसअघि दुई वटा राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज क्षेत्रमा गैँडा मरेका थिए ।

विषाक्त खाना, बुढो भएर, जुधेर, दलदलमा फसेर, भाले लाग्दा, लडेर, खोचमा फस्ने जस्ता कारणले गैँडा मर्ने गरेका छन् ।

गैँडाको मृत्युदर उच्च भएपछि गत वर्ष निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ ।

विगत केही वर्षयता चोरी शिकारीबाट गैँडा मारिएका छैनन् ।

तर प्राकृतिक कारणले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ताको रुपमा हेरिएको छ ।

गत आर्थिक वर्षमा ४३ गैँडा प्राकृतिक कारणले मरेका थिए ।

आर्थिक वर्ष २०७४/०७५ मा २६ र २०७३/०७४ मा २५ गैँडा सोही कारणले मरेका थिए ।