कोभिड–१९ को प्रभावः त्रिधार्मिकस्थल हलेसी मन्दिरको पूजाआजा अनिश्चितकालका लागि बन्द

खोटाङ– विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट जोगिन खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो ।

विश्वभरका दर्शनार्थी तथा पर्यटक भित्रने त्रिधार्मिकस्थल हलेसी मन्दिर नगरपालिका, विकास समिति र मन्दिर व्यवस्थापन समितिबीच छलफल गरेर अनिश्चितकालका लागि बन्द गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी दिए । “हलेसी मन्दिर भक्तजन तथा पर्यटकका लागि बन्द गरिए पनि बालपुजारीबाट साँझ–बिहान गरिने पूजाआजा नियमित हुन्छ”, उनले भने, “अन्य समय हलेसी मन्दिरको मुख्यद्वार तथा बसाहा गुफाको प्रवेशद्वार भने बन्द गरिएको छ ।”

त्रिधार्मिकस्थलको रुपमा विश्व प्रसिद्ध हलेसी अनिश्चितकालका लागि बन्द गरिएको यो नै पहिलो घटना भएको स्थानीयवासीले बताएका छन् । नगरपालिका, विकास समिति र मन्दिर व्यवस्थापन समितिको संयुक्त हस्ताक्षर रहेको सूचना शुक्रबार प्रकाशन गरेर हलेसी मन्दिर बन्द गरिएपछि दर्शनार्थी तथा पर्यटकको चहलपहलसमेत कम हुँदै गएको स्थानीयवासीले बताएका छन् ।

हलेसीमा हुने सन्ध्याकालीन आरतिसमेत अनिश्चितकालका लागि बन्द गरिएको विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताए । कोरोनाको महामारीबाट जोगिन चैत २० गते हलेसीमा लाग्ने रामनवमी मेलासमेत बन्द भएको छ । हलेसी मन्दिर परिसरमा यसअघि बिक्री गरिँदै आइएको डोरामालासमेत बेच्नमा प्रतिबन्ध लगाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कोरोनाबाट जोगिन मन्दिर परिसरमा हिजो चैत ७ देखि हेल्थ डेस्क (स्वास्थ्य सहायताकक्ष) समेत राखिएको छ ।

हलेसी प्रवेश गर्ने प्रमुख नाका सो नगरपालिकाको वडा नं १ मा पर्ने बाहुनीडाँडाको जयरामघाट र वडा नं ११ राजापानीको रेग्मीटारमा समेत आजदेखि हेल्थ डेस्क राखिएको जनाइएको छ । प्रमुख नाकामा स्थापना गरिएको हेल्थ डेस्क चौबीसै घण्टा सञ्चालनमा रहने नगरप्रमुख राईले जानकारी दिए । दश स्थानीय तह रहेको जिल्लामा हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्र प्रवेश गर्ने प्रमुख नाकामा हेल्थ डेस्क सञ्चालन गरेको छ । जिल्लास्थित विभिन्न राजनीतिक दल, सरकारी कार्यालय तथा सङ्घसंस्थाले आफ्नो पूर्वनिर्धारित औपचारिक कार्यक्रमसमेत स्थगित गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कोरोना फैलिन नदिनुका लागि जिल्ला अस्पताल खोटाङमा आइसोलेसन वार्ड (छुट्टै उपचारकक्ष) समेत स्थापना गरिएको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए । चाम्लिङका अनुसार कोरोनाका शङ्कास्पद बिरामी उपचार गराउन आएमा छुट्टै भर्ना गरेर उपचार गर्नका लागि अस्पतालको आफ्नै लगानीमा तीन श्ययाको आइसोलेसन वार्ड स्थापना गरेको हो ।

जिल्लामा आइपर्ने सम्भावित खतरालाई लक्षित गरेर प्रदेश तथा सङ्घीय सरकारसमक्ष आवश्यक बजेटसमेत माग गरिएको जनाइएको छ । बजेट नआएसम्मका लागि कर्मचारीकै तलबबाट आवश्यक तयारी थालिएको जनाइएको छ । यसअघि जल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भइसकेको छ । अध्ययनको सिलसिलामा चीनमा बसेर फर्किएका उनी बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपछि गत बुधबार स्वास्थ्य परीक्षण गर्दा उनमा कुनै लक्षण नदेखिएको हो ।

बिरामी भनिएका व्यक्तिमा सामान्य ज्वरोसमेत नरहेको र उनी स्वस्थ रहेको स्वास्थ्य परीक्षणमा संलग्न जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा शैलेस श्रेष्ठले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका उनी गत फागुन–१४ गते नेपाल फर्किएका थिए ।