विश्व कोरोनाले थलिँदा उत्तर कोरिया भने क्षेप्यास्त्र हान्ने ध्याउन्नमै

सोल– उत्तर कोरियाले छोटो दुरीका दुई ओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र हानेको हो ।

विश्वभरी कोरोनाको सङ्क्रमण फैलिइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो ।

कोरोनाको सङ्क्रमबाट विश्व नै आक्रान्त भइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्न अति नै असान्दर्भिक भएको दक्षिण कोरियाका अधिकारीहरुले टिप्पणी गरेको छ ।

उनीहरुले यस्ता असान्दर्भिक र अशोभनीय कार्य तत्काल रोक्न पनि उत्तर कोरियालाई आग्रह गरेका छन् ।

उत्तर कोरियामा अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको सङ्क्रमण नभएको दावी गरिएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दुई लाख ७६ हजार ४६८ जना सङ्क्रमित भएका छन् भने ११ हजार ४१७ जनाको मृत्यु भएको छ ।

जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टी गरेको छ ।