नेपाल पूर्ण लकडाउन : भोलिबाट घरबाट बाहिर निस्कन नपाइने, कैलालीमा अनिश्चितकालीन कर्फ्यु

नेपालमा कोरोनाको प्रभाव

काठमाडौं । संसारभरी नै कोरोनाको अत्यासलाग्दो संक्रमणले गाँजिरहेको बेलामा अन्य देशमा जस्तै नेपालमा पनि आज यसको संक्रमित व्यक्ति पाइएपछि अब स्थिति निकै गम्भीर हुने आकलन गर्दै विभिन्न निर्णयहरु भएका छन् ।
यसै क्रममा सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस ९कोभिड १९०को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।
कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।
खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।
सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने भएको छ ।
ती कार्यालयबाट सेवा प्रवाह बन्द गर्ने तर कर्मचारीले कार्यालयमा हाजिर हुने भनिए पनि कार्यालय खुलेपछि सेवाग्राही पुग्ने भएकाले कर्मचारीलाई नै विदा दिन लागिएको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठक अहिले सिंहदरवारमा बसिरहेको छ । सो बैठकले कर्मचारीलाई घर घरमै तयारी अवस्थामा बस्ने तर कार्यालय आउन नपर्ने गरी निर्देशन दिने तयारी छ । कार्यालय प्रमुख र उच्च पदस्थ कर्मचारीको हकमा भने विदा हुने छैन ।
सबै कार्यालय बन्द नगर्दासम्म सडकमा र सार्वजनिकस्थलमा सर्वसाधारणको आवागमन नरोकिएको कारण कर्मचारीलाई विदा दिन लागिएको हो ।

विराटनगर भोलिदेखि लक डाउन
त्यस्तै विराटनगर महानगरपालिकामा मंगलबारदेखि अनिश्चितकालीन लक डाउन हुने भएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका पसलहरू बन्द हुने जानकारी दिए ।

‘सरोकारवालसबैको आव्हानमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन लकडाउनको निर्णय गरेका हौँ,’ प्रमुख पराजुलीले भने, ‘यसका लागि हामीले सबै व्यावसायिक संघसंस्थासित बसेर छलफल गर्यौं र उहाँहरू कै सहमतिमा लक डाउनको निर्णय लियौं ।’

महानगरपालिकाले यसअघि गत शनिबारदेखि विराटनगर क्षेत्रभित्र लाग्दै आएका साप्ताहिक हाटबजार बन्द गरेको थियो ।

लक डाउनका लागि खुद्रा व्यवसायी, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार व्यवसायी संघ लगायतका २ दर्जन संघसंस्थाका प्रतिनिधिसँग बैठक गरेर यस्तो निर्णय लिइएको उनले जानकारी दिए ।

कैलालीमा अनिश्चितकालीन कर्फ्यु
जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेपछि अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिमा भिडभाड नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । सवारी साधन र आवत जावतसमेत पूर्ण रूपमा निषेध गरिने उनले जानकारी दिए ।
यसअघि कञ्चनपुरमा पनि सोमबार बिहानैदेखि लागू हुने गरी मंगलबार निषेधाज्ञा जारी गरिएको थियो ।

कैलाली र कञ्चनपुरमा भारतीय क्षेत्रबाट ठूलो संख्यामा सर्वसाधारण आउन थालेपछि त्यसलाई रोक्न कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।

बुद्ध एयरले बन्द गर्यो ६ वटा जहाज
बुद्ध एयरले आफ्ना कर्मचारी र यात्रुको हितलाई मध्यनजर गर्दै आफ्ना १३ जहाज मध्ये ६ वटालाई बन्द गरी जगेडामा राख्ने भएको छ । बुद्धले विस्तारै अरू उडानहरू पनि कम गर्ने बताएको छ ।

उडान सेवालाई नियमित सञ्चालन गर्न आवश्यक कर्मचारीलाई आलोपालो प्रणाली अपनाउने तथा बाँकीलाई तलबी बिदा दिई घरमै बस्न निर्देशन दिइसकेको कम्पनीले जनाएको छ ।

कोरोनाभाइरस ९कोभिड–१९० को महामारी संसारैभरि फैलिएसँगै नेपाल सरकारले सतर्कता अपनाउन गरेको अग्रहलाई आत्मसाथ गर्दै यात्रुहरुको सुविधालाई ध्यानमा राखी विस्तारै बुद्धका अन्य उडान पनि कम गर्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विशेषज्ञहरुले यदी काठमाडौंमा इटली वा अमेरिकाजस्तो कहर आयो भने लाखौं जनसंख्या प्रभावित हुने र हजारौंको ज्यान जोखिममा पर्न सक्ने अनुमान गरिरहेका छन् । यसबाट बच्ने एक मात्र उपाय घरमै बस्नु हो ।

घरभित्रै बस्ने, स्वस्थ्य खानपान, योगलगायतमा ध्यान दिन विज्ञहरुले आग्रह गर्दै आएका छन् । छिमेकी राष्ट्र भारतले ‘जनता कर्फयू’ उपाय अवलम्वन गरिसकेको अवस्थामा नेपालले पनि विशेष सतर्क हुन आवश्यक ठानी उडान कम गर्ने निर्णयमा पुगेको कम्पनीले बताएको छ ।