अत्यावश्यक सामाग्रीको अभाव हुन नदिन चीनतर्फको नाका खोलिने

काठमाडौं । हाल नाका बन्द हुँदा स्वास्थ्य, खाद्य वस्तु लगायतका अतिआवश्यक सामाग्रीहरु रोकिएको भन्दै सरकारले नाका खुलाउन तयारी गरेको छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले नाका बन्द हुँदा विशेष गरेर स्वास्थ्य सामाग्रीहरु समेत आउन नपाएको भन्दै खुलाउने तयारी गरिएको बताए । कोरोनाको महामारी फैलिँदै गर्दा यसको रोकथाम र नियन्त्रण गर्ने सामाग्री समेत आउन नपाएका कारण नाका खोल्न खोजिएको दाहालले बताए ।

तर नाका खुला गरे पनि उच्च स्वास्थ्य सतर्कता अपनाएर मालसामाग्रीहरु आयात गरिने उनको भनाइ छ । नाका खुले मास्क, स्यानिटाइजर लगायतका सामाग्रीहरुको समस्या धेरै समाधान हुने उनले बताए ।

अहिले केरुङ नाकामा मात्रै करिब ४ सय कन्टेनर सामान अड्किएका छन् । नाकामा सामाग्री अड्किँदा यहाँ अभाव देखिएको छ । यस्तो समस्या समाधानका लागि सरकारले नाका खोल्ने तयारी गरेको हो ।

नाका खोलेपछि सकेसम्म कम जनशक्ति प्रयोग गर्ने, चीनबाट आएका सामाग्रीहरु केहि दिन क्वारेनटाइनमा राख्ने, डिसइन्फेक्सन गर्ने लगायतका सुरक्षा सतर्कता अपनाएर काठमाडौं ल्याउने सरकारको तयारी छ ।