सरकारद्वारा विदेशी पर्यटकलाई हवाई उद्दार गरी उनीहरूकै देश फर्काउने तयारी

काठमाडौं– कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका विदेशी नागरिकहरुलाई हवाई उद्धार गरी काठमाडौं ल्याउने निर्णय गरेको छ । यसरी ल्याइने विदेशी पर्यटकलाई विमानस्थलबाटै आफ्नो देश फर्किन सरकारले सहजीकरण गर्नेछ । सरकारले विदेशीहरुलाई हवाई उद्दार गर्ने र आफ्नो देश फर्किन सहजीकरण गर्ने निर्णय गरेको छ ।

उडान समय नमिलेसम्म विमानस्थल नजिकको होटेलमा क्वारेन्टाइनमा राखिनेछ । यसरी क्वारेन्टाइनमा बस्दाको सम्पूर्ण खर्च सम्बन्धित पर्यटकले व्यहोर्नुपर्नेछ ।

नेपाल पर्यटन बोर्डकाअनुसार लकडाउन अगाडि नै पदयात्रामा गएकाहरु अलपत्र परेका छन् । करिब ३ सय पर्यटक लुक्लामा अलपत्र छन् । ६ जना पर्यटक मनास्लुमा समस्यामा छन् । अलपत्र पर्ने पर्यटकको संख्या धेरै रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का मिडिया कोर्डिनेटर सिम्बिर घलेले जानकारी दिए । नेपालस्थित विभिन्न मुलुकका दूतावासले समेत आफ्ना नागरिक कहाँ कुन अवस्थामा छन् भन्ने चासो देखाउन थालेका छन् ।

करीव ३ हजार पर्यटकले लकडाउन र सम्बन्धित देशका उडान प्रतिबन्धका कारण आफ्नो भिसा अवधि बढाएका छन् ।

कोरियाले विमान चार्टर गरेर आफ्ना नागरिक एक पटक लगिसक्यो भने अरुलाई लैजान सरकारसँग विमान अवतरणको अनुमति मागिरहेको छ । त्यस्तै फ्रान्सले पनि आफ्ना नागरिक लैजान चार्टर विमान ल्याउने प्रयास गरिरहेको छ ।