अमेरिका विश्वकै लागि कोरोनाभाइरसको मुख्य केन्द्र बन्ने खतरामा : विश्व स्वास्थ्य संगठन

जेनेभा– विश्व स्वास्थ्य संगठनले संयुक्तराज्य अमेरिका विश्वकै लागि कोरोनाभाइरसको नयाँ मुख्य केन्द्र (इपिसेन्टर) हुन सक्ने मंगलबार चेतावनी दिएको छ । यो चेतावनी जारी हुनासाथ विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतमा तीन साता लामो लकडाउन घोषणा गरिएको छ ।

भारत समेतका बेलायत र अरु कैयौं मुलुकले भाइरसको प्रसार रोक्न भन्दै मानिसको आवतजावत र हिँडडुलमा कडाई गरेका छन् । मार्च महिनाको शुरुदेखि नै जापानदेखि संयुक्तराज्य अमेरिकासम्मको व्यापार व्यवसाय लगभग ठप्प छ ।

कतिपय मुलुकमा कफ्र्यु लगाइएको छ भने केही मुलुकमा सशस्त्र प्रहरी र सेना नै परिचालन गरिएको छ ।

इटालीको मिलानस्थित युनिक्रेडिट बैंकका प्रमुख अर्थशास्त्री एडोआर्डो क्याम्पानेल्लाले विश्वमै डरलाग्दो ठानिएको प्राणघातक कोरोनाभाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी निम्त्याउने खतरा बढाएको बताए । उनले अत्यावश्यक सेवा बाहेक सबै किसिमका व्यवसाय ठप्पप्रायः भएका छन् भने आपूर्ति शृंखला टुटेको छ भने ।

अमेरिकी शेयर बजारमा मंगलबार केही सुधार आएको छ । खासगरी अमेरिकी सिनेटले २ खर्ब अमेरिकी डलरको आर्थिक राहत प्याकेजमा सहमति जनाउने आशामा लगानीकर्ताहरु रहेका छन् ।

कोरोनाभाइरसबाट मंगलबारसम्ममा विश्वका १९४ मुलुकका तीन लाख ७७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । करिब १६ हजार ५०० भन्दा बढीको ज्यान गइसकेको छ ।

जेनेभामा विश्व स्वास्थ्य संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्तराज्य अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढेको बताए । विगत २४ घण्टाको अवधिमा नयाँ भेटिएका संक्रमित व्यक्तिहरुमा ८५ प्रतिशत युरोप र संयुक्तराज्य अमेरिकाका रहेका छन् । तीमध्ये पनि ४० प्रतिशतजति अमेरिकाकै छन् ।

के संयुक्तराज्य अमेरिका दोस्रो इपिसेन्टर होला त भनी सोधिएको प्रश्नमा ह्यारिसले भने, “अमेरिकामा कोरोना संक्रमितको संख्याको वृद्धिदर बढी देखिएको छ । त्यसैले अमेरिका इपिसेन्टर हुने खतरा बढेको छ ।”

अमेरिकामा केही राज्य तथा स्थानीय अधिकारीहरुले संघीय पदाधिकारीसँग पर्याप्त सहकार्य नभएको भन्दै गुनासो गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस नियन्त्रणमा कठिनाई रहेको स्वीकार्नु भएको छ । मास्क र भेन्टिलेटरको माग तिब्र रुपमा बढेको छ, हामीले अमेरिकी राज्यहरुलाई त्यस्ता स्वास्थ्य उपकरण तत्काल उपलब्ध गराउनेतर्फ काम गरिरहेका छौं, तर यो त्यति सहज छैन, ट्रम्पले भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ भाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि पूरै मुलुकभर २१ दिने लकडाउन घोषणा गर्नु भएको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुले मे महिनाको मध्यसम्ममा भारतमा १० लाखभन्दा बढी मानिस संक्रमित हुने खतरा औंल्याएका छन् । यही कारण पनि भारत सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी सबै हवाई तथा रेलसेवा, व्यवसया र स्कुलहरु बन्द गरेको छ ।