उहिलेका कुरा

उहिले…

भकारीभरि धान र कोदो हुन्थ्यो, बोराभरी नुन, बारीभरी तरकारी, मदुसभरि मरमसला हुन्थ्यो ।

गोठमा २ वटा लैनाभैँसी हुन्थे । एउटा वर्षालाई एउटा हिउँदलाई । दूध बाह्रैमास उपलब्ध हुन्थ्यो ।

चिया खान सिकेका थिएनन्, दूध पिउँथे । चिनीको टन्टो थिएन, चियापत्तिको टन्टो थिएन ।

अधिकांश शाकाहारी थिए, मासु खानेले वनमा चरेर हुर्केको टेसिलो खसी खान्थे । सुइ घोची घोची ४ किलो फुलाएको बोइलर खाने चलन थिएन ।

साग सुकाएर गुन्द्रुक, मूला सुकाएर सिन्की बनाउँथे । कर्कलो काटेर चुल्ठी बनाएर राख्थे ।

अनिकाल र दुर्भिक्षमा काम लाग्ने यस्ता DRY FOOD हरू घरघरमा हुन्थे ताकि आपतकालमा प्रयोग गर्न पाइयोस् ।

बिहान उठ्थे, नुहाउँथे । तुलसीका मठमा गएर माला जप्थे, जल चढाउँथे । शारीरिक शुद्धताको ख्याल थियो ।

वेद पढ्थे । उपनिषद् पढ्थे । नभए भाषिकामै चलि आएका सुललित पदावली पाठ गर्थे ।

विहान विहानै गरिएको आवृत्तिले ग्रन्थहरू कण्ठस्थ हुन्थे ।

सिलौटोमा मसला पिस्दा महिलाहरूका हात दरा हुन्थे, ठेकीमा मोही घार्रघुर्र पार्दा पुरुषहरूका हात दरा हुन्थे ।

बिहान उठेर महिलाहरू घरगोठको काम गर्थे । पुरुषहरू घाँसको भारी लिएर आउँथे । घर र गोठको कामले शरीरलाई कसरत पुग्थ्यो, कसैलाई Morning walk  गर्ने आवश्यकता थिएन ।

रिफाइन गरेको तेल आएकै थिएन, ग्यास्टिक पनि कसैलाई हुँदैनथ्यो । घिउको चोखिन खान्थे । ५०/५५ किलाको धानको बोरा माथि अर्को बोरा खप्टेर बोकी हिँड्ने तागत भएका बलियाबाङ्गा मान्छे हुन्थे ।

मोही पारेपछि आगोमा नौनी चढाएर घर नै बास्नामय बनाउँथे । घरमा आगो बाल्ने हुनाले मच्छर, झिङ्गा र चमेरा पस्दैनथे ।

सरसफाइको ख्याल गर्थे ।

अहिले झैँ कोठैपिच्छे वासरूम थिएनन् । घरबाहिर टाढा दिसापिसाब गर्थे । दिसा गर्दा कपडा फेरेर गर्नुपर्थ्यो ।

दिसापिसाब गरेका कपडा लगाएर खान नपरोस् भनेर धोती फेरेर ढिँडो खान्थे । सके खरानी, नसके माटोले हात धुन्थे ।

दिसा गरेपछि ११ पटक, पिसाब गरेपछि ७ पटक हात धुने नियम थियो । खरानीपानीले हात धुन्थे । दिसापिसाब गरेपछि यौनाङ्ग राम्रोसँग धुने चलन थियो, पानी नभएका ठाउँमा पखाल्न पाइँदैन भनेर दिसापिसाब नै गर्दैनथे ।

खानुअघि बलि वैश्वदेव हुन्थ्यो । पहिलो गास कागलाई, दोस्रो गाइलाई, तेस्रो गास कुकुरलाई । घरबाहिर राखिदिएको खानामा चराचुरुङ्गी किराफट्याङ्ग्रा रमाउँथे । घर भित्र किराफट्याङ्ग्रा आउन कम हुन्थ्यो ।

अग्निमा खाना चढाउँथे । खानामा कुनै रसायन या विकृत पदार्थ भए, धुवाँ गन्हाउँथ्यो । आगो रङ्ग बदलेर बल्थ्यो । अनि खाना खान्थे । खाना खाएपछि मोही पिउँथे । मोहीले पचाउँथ्यो ।

उठ्नेबित्तिकै तामाको अङ्खराको पानी पिउँथे, यसले दिसा खुलाउँथ्यो । सुत्नुअघि मनतातो दूध पिउँथे, यसले निद्रा लाग्थ्यो ।

टाइट जिन्स लगाउने चलन थिएन । शरीरलाई आराम दिने खालका कपडा लगाउँथे ।

पितापुर्खाका नाममा चौतारी चिन्ने पोखरी बनाउने चलन थियो । चौतारीको वरपीपल नमासुन्, नकाटुन् भनेर विष्णु भगवानको अंश मानेर पूजा गर्थे । रूखले चीसो हावा दिन्थ्यो ।

पोखरी बनाएर मौलो गाड्थे । मौलेले धार्मिक भाव उत्पन्न गर्थ्यो । डाँडामा लगेर पोखरी बनाएकाले अझै पनि डाँडापोखरी नामका गाउँहरू यत्रतत्र भेटिन्छन् । पाप लाग्ने डरले पोखरी फोहोर गर्दैनथे । वर्षातको पानी पोखरीमा रिजर्भ हुन्थ्यो । फलस्वरूप कुवा, मूल जस्ता पानीका स्रोत १२ महिनै रसाइरहन्थे ।

प्रकृतिप्रेम अनौठो थियो । प्रकृतिको सम्मान सबैले गरून् भनेर प्रकृतिलाई ईश्वरका अवतारसँग जोड्थे ।

विष्णुको पहिलो अवतार मत्स्य भनेर माछा लगायत पानीमा बस्ने जलचर प्राणीमाथि प्रेम गरे । दोस्रो अवतार कूर्म भनेर कछुवा लगायत पानी र जमीन दुवैतिर बस्ने उभयचर प्राणीमाथि सम्मान गरे । तेस्रो अवतार वराह भनेर केबल जमीनमा मात्रै बाँच्ने बँदेल लगायतका स्थलचरमाथि प्रेम गरे । नृसिंह भनेर दुई प्रजातिको मिलनबाट पैदा भएका क्रस या खच्चर प्रजातिका प्राणीमाथि सम्मान गरे । हरेक प्राणीलाई कुनै न कुनै देवताको वाहन बताएर संरक्षणको अधिकार दिए । यो अवतार सिद्धान्तको बिलकुलै मिल्दोजुल्दो स्वरूपमा पछि चार्ल्स डार्बिनले क्रमिक विकास सिद्धान्तको व्याख्या गरे ।

गोठ सारेर गाइवस्तु पाल्ने हुनाले जमीन मलिलो थियो, विकासे मल हालेर रासायनिक खेती गर्ने चलन थिएन । अन्नपात बिल्कुलै अर्गानिक उब्जिन्थ्यो ।

घरघरमा जडिबुटीका जानकार थिए । बिरामी परेमा प्राकृतिक शैलीको उपचार हुन्थ्यो ।

वर्षौँपछि यदाकदा हुने महामारीले ज्यान गएको बाहेक अरू कसैको सामूहिक मरण सुनिदैँनथ्यो ।

खानापान, सरसफाइ, वातावरण, प्रकृतिप्रेम, अध्यात्म अनि स्वस्थ्य जीवनशैलीको यो भन्दा अनुपम नमूना के होला रु

त्यसैले, उ बेला न कोरोना थियो, न इबोला थियो, न सार्स थियो न इन्फ्लुएञ्जा ।

त्यसैले अहिले पनि त्यही पूर्ववत् जीवनशैली बनाउने हो भने, यी कोरोना जस्ता महामारी रोग व्याधिबाट छुटकारा पाइन्थ्यो की ?