अमेरिकामा प्रतिमहिना १० लाख बेरोजार संख्या बढ्ने

वासिङ्गटन । कोरोनाभाइरसको संक्रमणबाट उत्पन्न संकटका कारण अमेरिकामा बेरोजगारी अचानक वृद्धि भएको छ । अमेरिकामा गत साता तीन लाखभन्दा बढी मानिसले आफूलाई बेरोजगारका रुपमा सूचीकृत गराएका छन् ।
अमेरिकाको श्रम विभागको यो तथ्याङ्क आफैँमा आश्चर्यजनक मानिएको छ । किनकि एकसाथ यति ठूलो संख्यामा अमेरिकामा आफूलाई बेरोजगार भत्ताका लागि सूचिकृत गराएका थिएनन् । यसअघि सन् १९८२ मा ठूलो संख्यामा बेरोजगारी बढेको थियो । त्यो बेला ६ लाख ९५ हजार मानिसले बेरोजगारका रुपमा आफूलाई सूचिकृत गराएका थिए ।

अमेरिकी संसदको माथिल्लो सदनले बुधबार दुई ट्रिलियन डलरको आर्थिक सहायता प्याकेज पारित गरेको छ । यो अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो राहत प्याकेज हो । अमेरिकामा कोरोना संक्रमणका कारण रेस्टुरेन्ट, बार, सिनेमा घर, होटल, जिम लगायतका भीडभाडयुक्त क्षेत्र बन्द गरिएको छ । कार कम्पनीहरुले उत्पादन रोकेका छन् । हवाई सेवालाई पनि सीमित गरिएको छ ।

यसै वर्षको ४ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘अमेरिकामा रोजगारीका अवसर वृद्धि भइरहेको छ, गरिबी अन्त्य भइरहेको छ, अपराध दर घटेको छ, नागरिकमा आत्मविश्वास बढेको छ, देश समृद्धितर्फ बढिरहेको छ ।’

ट्रम्प अमेरिकाको २१.४४ ट्रिलियन डलरको अर्थव्यवस्थालाई लिएर निकै उत्साहित देखिएका थिए । चीनको १४.४ ट्रिलियनको जीडीपी, भारतको २.८ ट्रिलियनको जीडीपीको सन्दर्भमा यो तथ्याङ्क उत्साहजनक नै हो ।
त्यतिबेला चीनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सयसम्म पुगेको थियो भने हजारौं चिनियाँ त्यसको संक्रमणमा परेका थिए । अमेरिकामा त्यतिबेला कोरोनाको संकट त्यति गम्भीर स्तरमा पुगिसकेको थिएन ।

अमेरिकी शेयर बजारले नयाँ उचाई हासिल गरेको पनि धेरै भएको थिएन । बेरोजगारी दर ३.६ प्रतिशतका साथ ५ दशक यताकै न्यूनतम स्तरमा थियो । तर, डेढ महिनापछिको अवस्था निकै भिन्न छ । अमेरिकामा एक हजार ५० भन्दा बढी मानिसको मृत्यु कोरोना संक्रमणका कारण भइसकेको छ । करिब ७० हजार संक्रमित फेला परिसकेका छन् । यो तथ्यांकमा लगातार वृद्धि भइरहेको छ ।

व्यापार, खेलकुद आयोजना, विद्यालय सबै बन्द छन् । आर्थिक गतिविधिमा लगाम लागेको छ । स्टक बजार नराम्ररी झरेको छ । सुनसान सडक, शपिङ मल, हवाई सेवा, रेल सबै ठप्प छन् । ‘अर्थव्यवस्था धरासायी भयो’ भन्ने टिप्पणी आमरुपमा सुन्न थालिएको छ ।

लगानीकर्ता रे डेलियोले सीएनबीसीसँगको एक अन्तरवार्तामा भनेका छन्, ‘जे भइरहेको छ, त्यस्तो हाम्रो जीवनमै कहिल्यै भएको थिएन, यो संकटको समय हो ।’ अर्थशास्त्रीहरुले ठूलो मन्दीको अनुमान गरेका छन् । पहिलो त्रैमासिकमा जीडीपीमा ६ प्रतिशत गिरावट आउने र दोस्रो त्रैमासिकमा यो दर बढेर २४ प्रतिशतसम्म पुग्ने उनीहरुको अनुमान छ ।

बैङ्किङ क्षेत्रको एउटा ठूलो कम्पनी जेपी मोर्गनले आफ्नो एउटा विश्लेषणमा भनेको छ, ‘पहिलो त्रैमासिकमा चार प्रतिशतपछि दोस्रो त्रैमासिकमा अमेरिकी अर्थव्यवस्थामा १४ प्रतिशत गिरावट हुने अनुमान छ, तेस्रो चौमासिकमा यो ८ प्रतिशतमा सीमित हुने र चौथो त्रैमासिकमा चार प्रतिशत भर्पाइ गर्न सफल हुने देखिन्छ ।’

जेपी मोर्गनका मुख्य अर्थशास्त्री माइकल फेरोलीको अनुमानअनुसार आगामी सातामा अमेरिकामा रोजगारी गुमाउने सुरुवाती संख्या चार लाख पार गर्नेछ । बैंकअफ अमेरिकाका अर्थशास्त्री मिशेल मेयेरका अनुसार अमेरिकाको अर्थव्यवस्था मन्दीको चरणमा प्रवेश गरिसकेको छ, अमेरिका पनि बाँकी विश्वका साथ एउटै लाइनमा उभिएको र गहिरो आर्थिक संकटको सामना गरिरहेको छ ।

उनका अनुसार रोजगारी हुने छैन, मानिससँग पैसा हुने छैन र एक प्रकारको हतास अवस्था सिर्जना हुनेछ । बैंक अफ अमेरिकाको अनुमानअनुसार दोस्रो त्रैमासिकमा १२ प्रतिशत गिरावटका साथ अर्थव्यवस्था डुब्ने छ । एक वर्षको जीडीपीमा ०.८ प्रतिशत गिरावट आउने छ ।

यो कठिन अवस्थाका बाबजुद अर्थशास्त्रीहरु केही आशा जगाइरहेका छन् । यद्यपि हरेक पल बदलिँदो परिस्थितिका कारण कुनै पनि विषय निश्चित रुपमा भन्न सकिने अवस्था छैन । यो क्रम कहिलेसम्म लम्बिने छ भन्नेमा कसैले पनि प्रष्ट पार्न सकिरहेका छैनन् ।

स्विटजरल्याण्डको लगानीकर्ता कम्पनी युबीएसका अनुसार दोस्रो त्रैमासिकका क्रममा अमेरिकी अर्थव्यवस्थामा ठूलो गिरावट देखिनेछ, कोरोनाभाइरसका कारण पहिलो अर्धवार्षिक अवधिमा गहिरो मन्दी देखा पर्नेछ ।
अर्थतन्त्रमा आउने गिरावटको सोझो प्रभाव रोजगारीमा पर्ने निश्चित छ । बैंक अफ अमेरिकाका अनुसार बेराजगारी दर दोब्बर बढ्ने छ । प्रत्येक महिना करिब १० लाख रोजगारी गुम्ने छ । यस हिसाबमा दोस्रो त्रैमासिकमा करिब ३५ लाख रोजगारी गुम्ने देखिन्छ ।

विश्लेषक कम्पनी अक्सफोर्ड इकोनोमिक्सका अनुसार यात्राहरु रद्द भएका कारण करिब ४६ लाख रोजगारी गुम्ने छ । यात्रामा हुँदै आएको ३ सय ५५ अर्ब डलर बराबरको खर्च यो वर्ष हुन पाउने छैन, जसका कारण अमेरिकी अर्थव्यवस्थामा ८ सय ९ अर्ब डलरको नोक्सान हुने देखिन्छ ।

‘ह्युमन राइट्स वाच’को एक प्रतिवेदनअनुसार अमेरिकामा गरिबीको रेखामुनी रहेका चार करोड ६० लाख मानिससँग त्यति बचत छैन जो आम्दानी नभएको अवस्थामा आफ्नो गुजारा चलाउन सकुन् । -बीबीसी