विदेशबाट फर्केकाको विवरण सङ्कलन गरिँदै, १७ जना क्वारेन्टाइनमा

लहान– सिरहाका स्थानीय तहले गत फागुन २३ गते यता अन्य देशबाट फर्केकाहरुको बिवरण सङ्कलन गरी क्वारेइन्टाइनमा राख्न थालिएको छ ।

कोभिड १९ फैलिएका मुलुकबाट फर्किएका व्यक्तिका कारण रोगको सङ्क्रमण बढ्न सक्ने भन्दै स्थानीय तहले २० दिनअघि नेपाल फर्केका सबैको विवरण सङ्कलन गरी स्थानीय तहद्वारा स्थापना गरिएका क्वारेइन्टाइनमा राख्न थालिएको हो ।

भारतसहित अन्य मुलुकबाट फर्किएका व्यक्तिको सम्पूर्ण विवरण स्थानीय तहबाट सङ्कलन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले बताए । उनले भने, ‘‘ के कति सङ्ख्यामा विदेशबाट फर्केका छन्, ती सबैको विवरण सङ्कलन गर्न स्थानीय तहरुलाई पत्राचार गरिसकेका छाँै, कतिपयले विवरण सङ्कलन गरिरहेका छन् भने कतिपयले क्वारेन्टाइनमा समेत राख्न थालिसकेका छन् ।”

स्थानीय तहबाट प्राप्त हुने विवरणकै आधारमा विदेशबाट फर्केकालाई क्वारेन्टाइनमा राख्ने र तिनका परिवारका सदस्यलाई पनि निगरानी गर्ने तयारी भइरहेको उनको भनाइ छ । यसैबीच सिरहाका विभिन्न स्थानीय तहले बनाएको क्वारेन्टाइनमा आज १७ जनालाई राखिएको छ ।

कोरोना भाइरस सिचुएशसन सेन्टर सिरहाका अन्धेश्वरप्रसाद चौधरीका अनुसार आज सिरहाको विष्णुपुर गाउँपालिकास्थित क्वारेन्टाइनमा ६, बरियारपट्टी गाउँपालिकास्थित क्वारेन्टाइनमा ६, भगवानपुर गाउँपालिकाको अम्बेनगरस्थित क्वारेन्टाइनमा तीन र गोलबजार नगरपालिकास्थित क्वारेन्टाइनमा एक जनालाई राखिएको छ । क्वारेन्टाइनमा राखिएकाहरुको खानपिन र हेरचाह सम्बन्धित पालिकाले नै गरिरहेको चौधरीले बताए ।