कोरोना भाइरस : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैँलिदै

काठमाडौ– कोरोना भाइरसको महामारीबाट जोगिन विश्वका सबै मानिसले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आह्वान गरेका पाँच विधिलाई हुबहु पालना गर्दा मात्र पनि धेरै मानिस अकाल मृत्युबाट बाँच्न सक्छन् ।

डब्लुएचओले क्रमशः पटक–पटक साबुनपानीले हात धुने, खोक्दा वा हाच्छयूँ गर्दा रुमाल वा कुइनोले मुख ढाक्ने, सामाजिक दूरी कायम राख्ने, सधैँजसो मास्कको प्रयोग गर्ने तथा स्यानिटाइजरको भरपुर उपयोग गर्न सार्वजनिक आह्वान गर्दै आएको छ ।

डब्लुएचओले महामारी रोग नियन्त्रण शाखाकी प्रमुख वेनिदेत्ता एलिग्रेन्जिले सन् २०२० मार्च १८ को अन्तिम दिन उक्त विषयमा सार्वनिक भनाइ व्यक्त गर्दै गर्दा विश्वका १६४ देशमा महामारी फैलिसकेको थियो भने आठ हजार ५९३ व्यक्तिले ज्यान गुमाइसकेका र दुई लाख छ हजार २५० व्यक्तिमा सङ्क्रमण फैलिएको थियो । डब्लुएचओले नियमितरूपमा विश्वमा तीव्र गतिमा फैलिदै गइरहेको कोरोना भाइरसको अवस्था विवरण सार्वजनिक गर्दै आएको छ । सो तथ्याङ्क ‘विश्व स्वास्थ्य सङ्गठन अवस्था विवरण–५८’ मा उल्लेख गरिएको छ ।

चीनको हुवेइ प्रान्तको उहान शहरमा सन् २०२० डिसेम्वर ३१ मा देखिएको कोरोना भाइरसबाट जोगिन डब्लुएचओले उक्त पाँच विधि १८ मार्च २०२० सम्म लगातार ७८ दिनसम्म सार्वजनिक गर्दै आएको छ । उक्त दिनसम्म पुग्दा आठ हजार ५९३ को मृत्यु भएको थियो भने १८ मार्चपछि सात दिनको अन्तरालमा अर्थात् २५ मार्चसम्म पुग्दा विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या कूल २० हजार ६४२ पुगेको छ । सात दिनमा सो मृत्युदर २४० प्रतिशत हुन आउँछ । २५ मार्च पुग्दासम्म कोरोना भाइरस १९६ देशमा फैलिसकेको र चार लाख ५४ हजार ८९१ व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

मार्च २५ मा मात्र सङ्क्रमणको सङ्ख्या ४० हजार ७१२ पुगेका छन् । सात दिनमा सङ्क्रमणको वृद्धिदर २२० प्रतिशत र फैलावट १२० प्रतिशत हुन आउँछ । २७ मार्चसम्म आइपुग्दा महामारी फैलिएको ८८ दिनहुन्छ । यस अवधिसम्म आइपुग्दा नेपालमा भने तीन व्यक्तिमा मात्र सङ्क्रमण देखिएको छ । एक जना नेपाली उपचारपछि घर फर्किसकेका छन् । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणको अवस्थालाई बुझेर विश्व आपतकाल घोषणा गरेको छ ।

वल्र्डमिटरले मार्च २७ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोना भाइरसको सङ्क्रमण १९९ देशका पाँच लाख ३१ हजार ६३० मा फैलिसकेको, २४ हजार ६५ को मृत्यु र एक लाख २३ हजार ३९१ उपचारपछि घर फर्किसकेका उल्लेख छ । नयाँ सङ्क्रमणको अवस्था तीन लाख ८४ हजार १७४ मा फैलिएको छ । तीन लाख ६४ हजार ६१६ को अवस्था सामान्य छ । १९ हजार ५५८ को अवस्था चिन्ताजनक रहेको तथ्याङ्कमा उल्लेख छ ।

वल्र्डमिटर संयुक्त राष्ट्रसङ्घ (युएन) डब्लुएचओ, खाद्य र कृषि सङ्गठन (एफएओ) तथा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का विज्ञ समूह सहभागी संस्था हो । यस संस्थाले विश्वका विभिन्न तथ्याङ्क सार्वजनिक गर्ने गर्दै आएको छ ।

कोरोनो भाइरस देखिएको ८८ दिनसम्म आइपुग्दा सबैभन्दा धेरै मानिसको सङ्क्रमण अमेरिकामा देखिएको छ । आजका दिनसम्म पुग्दा अमेरिकामा सङ्क्रमण हुनेको सङ्ख्या ८५ हजार ३७७ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसअघि नै अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण तीव्रगतिमा फैलिनसक्ने चेतावनी दिएको थियो । तर उसले सम्पूर्ण राज्य नै लकडाउन नगरेका कारण रोगको सङ्क्रमण फैलिएको चिकित्सकले बताएका छन् । मार्च २७ तारिखमा मात्र अमेरिकामा थप १७ हजार १६६ मा नयाँ सङ्क्रमण फैलिएको दाबी गरिएको छ । सोही दिन अमेरिकापछि स्पेनमा आठ हजार २७१, जर्मनीमा छ हजार ६१५, इटालीमा छ हजार २०३, फ्रान्समा तीन हजार ९२२, इरानमा दुई हजार ३८९, बेलायतमा दुई हजार १२९, स्वीटजरल्याण्डमा ९१४, दक्षिण कोरियामा १०४ र चीनमा जम्मा ५५ व्यक्तिमा नयाँ सङ्क्रमण देखिएको छ ।

अहिले यतिखेर विश्वका करोडौँ मानिस कोरोना भाइरसबाट जोगिन घरभित्र क्वारेन्टाइनमा सुरक्षित छन् । विश्व स्वास्थ्य सङ्गठनले भनेअनुसार सबै मानिसले घरभित्र आ–आफँैले तोकिएको स्वास्थ्य सुरक्षा विधि अपनाउने हो भने कोरोना भाइरस क्रमशः नियन्त्रणमा आउने दाबी गरिएको छ ।

नेपालमा पनि सरकारले चैत ११ गतेदेखि लकडाउन गरी सबै जनतालाई घरभित्रै रहन आग्रह गरेको छ । सरकारले बिहीबार नेपालका २५ अस्पताललाई कोरोना भाइरसबाट जोगिन स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री खरिद गर्न रु १० लाख उपलब्ध गराएको, ७०० व्यक्तिको कोरोना परीक्षण गरेको र विदेशबाट आएका व्यक्तिको व्यवस्थितरूपमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सार्वजनिक जानकारी दिएका छन् ।